काठमाडौं । संघीय संसदअन्तर्गका तीनवटा समितिको बैठक आज बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने भएको हो ।
बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल हुनेछ ।
त्यस्तै बिहान ११ः३० बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि दफावार छलफल हुनेछ ।
बिहान साढे ११ बजे नै बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा नेपाल मेडिकल व्यवसायी सङ्घ र नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीहरूसँग छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।