Logo
Logo

अखिल क्रान्तिकारीको विभिन्न आयोग सदस्यमा १३ जना निर्विरोध


1.1k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को केन्द्रीय समिति अन्तर्गतका विभिन्न आयोगमा १३ जना निविरोध निर्वाचित भएका छन् ।

लेखा आयोग, निर्वाचन आयोग र अनुशासन आयोगमा विभिन्न प्रदेशबाट निर्वाचित भएर आउने सदस्य पदमा एकल उम्मेदवारी परेपछि १३ जना नयाँ नेतृत्व चयनका लागि शनिवार हुने निर्वाचन अगावै निविरोध निर्वाचित भएका हुन् ।

निर्वाचन समितिका अनुसार लेखा आयोगको सदस्यमा कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, विश्वविद्यालय प्रदेश र उपत्यका विशेष प्रदेशबाट उम्मेदवारी नै दर्ता भएन ।

यस्तै निर्वाचन आयोग सदस्यमा लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशबाट उम्मेदवारी नै परेन । यस्तै अनुशासन आयोग सदस्यमा लुम्बिनी र बागमती प्रदेशबाट उम्मेदवारी नै दर्ता नभएको निर्वाचन समितिले जनाएको छ ।

लेखा आयोगको सदस्यमा बागमती प्रदेशबाट राजेशबहादुर खत्री, मधेश प्रदेशबाट मनोहर यादव, प्रदेश १ बाट सन्देश राई र सुदूरपश्चिम प्रदेशबाट मनिषा साउँदको एकल उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै अनुशासन आयोग सदस्यमा उपत्यका विशेष प्रदेशबाट सुजन घिमिरे, प्रदेश १ बाट विक्रम परियार, गण्डकी प्रदेशबाट उमेश खनाल, मधेश प्रदेशमा जितेन्द्रकुमार यादव र विश्वविद्यालय प्रदेशबाट आशिम बास्ताकोटीको एकल उम्मेदवारी दर्ता भएको छ । उनीहरू पनि निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन आयोग सदस्यमा पनि प्रदेश १ बाट दर्शन शाह, विश्वविद्यालय प्रदेशबाट विपिन लामा, उपत्यका विशेष प्रदेशबाट निराजन गौतम र सुदूरपश्चिम प्रदेशबाट पूर्णसिंह धामीको एकल उम्मेदवारी दर्ता भएको छ । उनीहरू पनि निर्विरोध निर्वाचित भएका छन् । यद्यपि निर्वाचन समितिले उनीहरु निर्वाचित भएको घोषणा गर्न बाँकी छ ।

अखिल क्रान्तिकारीको केन्द्रीय समितिमा ३१२ पदका लागि ५०० जनाको उम्मेदवारी दर्ता भइसकेको छ । पदाधिकारीदेखि केन्द्रीय सदस्यमा धेरैको उम्मेदवारी परे पनि केन्द्रीय समिति अन्तरगत नै रहेका विभिन्न आयोगमा प्रदेशबाट निर्वाचित भएर आउने सदस्य पदमा भने अधिकांशमा उम्मेदवारी नै नपरेको हो ।

प्रतिक्रिया दिनुहोस्