काठमाडौं । अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेको पहिलो दिन अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई)ले ३०८ अवैध आप्रवासीलाई पक्राउ गरेको छ ।
अमेरिकी सञ्चारमाध्यम न्युयोर्क पोस्टका अनुसार सीमा सुरक्षा अधिकारी टम होमनले उक्त कुरा बताएका हुन् । समाचारमा उल्लेख भएअनुसार देशका विभिन्न भागबाट यस्ता अबैध आप्रवासी पक्राउ परेका हुन् । गैरकानुनी आप्रवासीहरू अधिकांश अपराधी रहेको जनाइएको छ । तीमध्ये केहीलाई अपहरण, हत्या र बलात्कारको आरोपसमेत रहेको बताइएको छ ।
टम होमनका अनुसार अध्यागमन अधिकारीहरूले देशका लागि खतरा हुने अवैध आप्रवासीलाई पक्राउ गर्न थालिएको छ । उनीहरुको जनसंख्या ७ लाखभन्दा बढी रहेको अनुमान रहेको उनको भनाइ छ । ट्रम्पको सपथलगत्तै अमेरिकाका धेरै राज्यहरूमा छापा मार्ने काम सुरू भइसकेको समाचारमा उल्लेख छ ।
राष्ट्रपति चुनाव जितेको केही दिनपछि ट्रम्पले पूर्व अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) प्रमुख टम होमनलाई ‘बोर्डर जार’ नियुक्त गरेका थिए । होमनले गत हप्ता ट्रम्पको शपथको भोलिपल्टदेखि नै कागजातविहीन आप्रवासीहरूको व्यापक राष्ट्रव्यापी खोज र गिरफ्तारी सुरु गर्ने घोषणा गरेका थिए ।
ट्रम्पले सोमबार सपथ लिएका थिए । सपथलगत्तै ट्रम्पले दर्जनौँ कार्यकारी आदेशहरुमा हस्ताक्षर गरेका छन् । जसमध्ये अवैध आप्रवासीलाई प्रवेशमा रोक लगाउने र सीमामा सुरक्षा व्यवस्था कडा पार्ने जस्ता आदेश थिए ।
ट्रम्पले अवैध आप्रवासीलाई अमेरिकाबाट निष्कासन गर्ने बताउँदै आएका छन् । उनले चाँडै अमेरिकी इतिहासको सबैभन्दा ठूलो निर्वासन अभियान सुरु हुने समेत बताइसकेका छन् ।
विश्वका कुल आप्रवासीमध्ये २० प्रतिशत अमेरिकामा मात्रै बस्छन् । सन् २०२३ सम्ममा यहाँ बसोबास गर्ने आप्रवासीको कुल संख्या ४.७८ करोड थियो । अन्य देशका मानिसहरु गैरकानुनीरुपमा अमेरिका प्रवेश गरेर अपराध गर्ने ट्रम्पको आशंका छ ।