Logo
Logo

इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति


189
Shares

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले इतिहासको पठनपाठन कम हुँदै जाँदा शिक्षित नागरिकमा नेपालको गौरवपूर्ण इतिहास, संस्कृति, परम्परा तथा मूल्यमान्यताबारे यथेष्ट जानकारी हुन छाडेको बताएका छन् ।

नेपाली सेनाद्वारा जङ्गीअड्डामा आयोजित अवकाश प्राप्त रथीवृन्दसँगको अन्तरक्रिया समापनका अवसरमा उनले इतिहासको अध्ययन र अध्यापन नभए कालान्तरमा राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमानमा नै असर पर्दै जानेमा चिन्ता व्यक्त गरे ।

महारथी सिग्देलले इतिहासको महत्व जगाउन सेनामा सञ्चालन हुने सबै तालिममा इतिहासको अध्ययन अध्यापन सुरु गर्न लागिएको जानकारी दिए । नेपाली सेनाले ‘गौरवशाली नेपाल’ नामक पुस्तकसमेत तयार पाएको सो अवसरमा जानकारी दिइयो ।

प्रधानसेनापति सिग्देलले कल्याणकारी योजनाअन्तर्गत आयमूलक सँगसँगै राष्ट्र र नागरिकको जीवनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान दिने खालको कार्यक्रम लागू गर्नसमेत अध्ययन भइरहेको बताए ।

बलाध्यक्ष रथी प्रदीपजङ्ग केसीले अग्रजको अनुभव र विज्ञताका आधारमा सेनाले राष्ट्रिय सुरक्षा र राष्ट्रियहित तथा कल्याणकारी योजना तय गर्ने योजना रहेको बताए । अवकाश प्राप्त ज्येष्ठ रथी कृष्णनारायणसिंह थापाले सेनाको योग्य र विज्ञ समूहले हालको विश्वसुरक्षा वातावरणमा नेपालको सुरक्षा अवस्थालाई मजबुत बनाउन राष्ट्रिय सुरक्षा परिषद्लाई सल्लाह सुझाव दिइ सक्षम बनाउनुपर्ने धारणा राखे ।

उनले भूतपूर्व सैनिकलाई कृषिलगायत उत्पादनमूलक कार्यमा लाग्न प्रेरित गरी देशलाई आत्मनिर्भर बनाउनेतर्फ योगदान दिनुपर्नेमा जोड दिए । अन्तरक्रियामा सहभागी रथीवृन्दले नेपाली सेना र सरकारले राष्ट्रिय सुरक्षा र राष्ट्रियहितको जगेर्नाका विषयमा अनुभव र अध्ययनबाट खारिएका विज्ञ व्यक्तिको राय सुझावका आधारमा कार्य गर्नुपर्नेमा जोड दिए ।

नेपाली सेनामा रथी र उपरथीबाट अवकाशप्राप्त करिब एक सय जना दिग्गजको सहभागिता रहेको कार्यक्रममा उनीहरुले नेपालको सरकारी सेवामा सबैभन्दा लामो सेवा र विदेशबाट उच्चस्तरको तालिम र ज्ञानप्राप्त पेशेवर जनशक्तिलाई राष्ट्रले उपयोग गर्नुपर्ने सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्