Logo
Logo

‘देशभक्त छोरो मर्दा देशै रूँदो रैछ…’


1.4k
Shares

गण्डकी । उपचारका क्रममा भारतको एक अस्पतालमा मंगलबार निधन भएका पूर्वऊर्जा राज्यमन्त्री एवं संविधानसभा सदस्य रामजीप्रसाद शर्माको बिहीबार बागलुङस्थित निरयघाटमा अन्त्येष्टि गरिएको छ । सशस्त्र प्रहरी बलको शोक सलामीसहित गरिएको अन्त्येष्टिमा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित सयौँ मानिस उपस्थित थिए ।

पूर्वप्रधानमन्त्री नेपालले दिवङ्गत शर्माको घर र अन्त्येष्टिस्थलमा पुगेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । सो क्रममा उनले नेपालको राजनीतिक आन्दोलनले असल र निष्ठावान नेतालाई गुमाएको बताए ।

अढसठ्ठी वर्षको उमेरमा भएको शर्माको अप्रत्यासित निधनको खबरले आफू स्तब्ध बनेको उनको भनाइ थियो । मानिसको जीवन नश्वर रहेको भन्दै पूर्वप्रधानमन्त्री नेपालले व्यक्ति दिवङ्गत भएर गए पनि उसका सही कर्म र योगदानको सदा स्मरण भइरहने बताएस् ।

जेबी टुहुरेको गीत ‘मृत्यु पनि मान्छेपिच्छे फरक हुँदोरैछ, देशभक्त छोरो मर्दा देशै रूँदो रैछ’ सम्झँदै उनले शर्माको निधनको खबर सुन्ने जोकोही मर्माहत भएको बताए ।

पूवप्रधानमन्त्री नेपालले आगामी ससंद् बैठकमा दिवङ्गत शर्माप्रति श्रद्धाञ्जलीसहित सम्मान गरिनुपर्ने बताए । देश र जनताप्रति जीवन समर्पित गर्नेहरू सधैँ प्रंशसायोग्य रहने भन्दै उनले शर्मा पनि आफ्ना व्यवहार र आचरणका कारण जनतामाझ लोकप्रिय रहेको बताए ।

विसं २०६४ को पहिलो संविधानसभा चुनावमा बागलुङ–१ बाट निर्वाचित शर्मा बागलुङको कम्युनिष्ट आन्दोलनको अगुवा नेताका रूपमा चिनिन्छन् ।

पछिल्लो समय नेकपा (एकीकृत समाजवादी)मा क्रियाशील रहेका उनी संविधानसभाको पहिलो कार्यकालमा ऊर्जा राज्यमन्त्री थिए । उनी कुशल सङ्गठक र विकासप्रेमी नेताका रूपमा परिचित थिए । शर्माले पञ्चायतकालमा बागलुङमा तत्कालीन नेकपा (माले) स्थापना र सङ्गठन विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

उनले पञ्चायतविरोधी आन्दोलनमा मालेका तत्कालीन नेता गोविन्द अधिकारी, मोहनलाल शर्मा, नरबहादुर थापालगायतसँग मिलेर काम गरेका थिए । शर्माले नेकपा (एमाले) बागलुङको सचिवका रूपमा १५ वर्ष, धवलागिरि इञ्जार्ज र केन्द्रीय सदस्यका रूपमा पनि जिम्मेवारी पूरा गरेका थिए । मिर्गाैला प्रत्यारोपणका लागि भारत जानुभएका शर्माको उपचारकै क्रममा निधन भएको थियो । शर्माका श्रीमती, दुई छोरा र छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्