Logo
Logo

नांगो बादशाहको कथा


- शम्भु श्रेष्ठ

0
Shares

सत्तामा बस्नेहरुलाई विरोध, आलोचना मन पर्दैन । सत्ताका वरपर चौबिसै घण्टा हुक्के, बैठकेहरुले शासकको कानमा चिनी हालिदिने गर्छन् । त्यसैले सत्तामा बस्नेहरुले जहिले पनि आफ्नो प्रशंसामात्र खोज्ने गर्छन् । विरोधीहरुलाई अनेकौं बहानामा सिध्याउने गरेका उदाहरण धेरै छन् । यो शैली र संस्कारले राज्यसत्ता निरंकुश हुने खतरा बढ्दै जान्छ । निरंकुशताले नै तानाशाही प्रवृत्ति मौलाउन थाल्छ । त्यो प्रवृत्तिलाई नियन्त्रण गर्न सकिएन भने सत्ताको लोभले भोक जाग्दै जान्छ । त्यही सुरमा उसले आफूले के बोले, के खाए, के गरेँ भन्ने कुरा बिर्सदै जान थाल्छ र, जे बोलिरहेको छु ठिक बोलिरहेको छु । जे गरिरहेको छु ठिक गरिरहेको छु भन्ने भ्रममा ऊ बाँच्छ । जब शासक भ्रममा बाँच्न थाल्छ, तब उसले सबै वास्तविकतालाई बिर्सन थाल्छ । वास्तविकता के हो भन्ने कुरा समेत उसले बुझ्न चाहँदैन र सडकमा नांगो हिँडाउँदासमेत उसले आफूलाई बादशाह नै ठानिरहेको हुन्छ । दश कक्षामा ‘इम्परर न्यू क्लोथ’को कथा पढ्दाको सार हो यो । विश्वमा बादशाहहरु आफ्ना वरपरका मानिसबाट कसरी नांगेझार हुँदै पतनको डिलमा पुग्छन् भन्ने कुरा यो कथाको निष्कर्ष हो ।

शम्भु श्रेष्ठ

प्रधानमन्त्रीको आलोचना गर्नेहरुले आलोचनाकै लागि मसी खर्च गरेका होइनन् । प्रधानमन्त्रीको कुर्चीमा बस्ने व्यक्तिले जे मन लाग्यो त्यही बोल्ने र जे गर्न मन लाग्यो त्यही गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ भनेर पत्रकार, स्तम्भकारले ओलीलाई झकझक्याउन खोजेका मात्र हुन् । तर, दोस्रोपटक प्रधानमन्त्री भएका ओलीले आफ्नो बोली र व्यवहारमा सुधार ल्याउन नसक्दा उनी आफैँ बेसारे प्रधानमन्त्री बन्न पुगेका छन् ।

कृष्णमुरारी भण्डारीले गत वर्ष यही महिनामा नागरिक दैनिकमा एउटा लेख लेखेका थिए– ‘प्रधानमन्त्री केपी ओलीले मंगलबार विश्व वातावरण दिवसको उपलक्ष्यमा सिंहदरबारमा लिची र एभोकाडा दुईवटा बिरुवा रोपेपछि देशलाई नै फलफूलमय बनाउने अभियान सुरु भएको दाबी गरेका छन् । तर ओलीले बिरुवा रोपिरहेको बेला उनकै आसेपासेले हजार फिट अग्लो ओलीको कदलाई डेढफुटमा झारिदिएका छन् । लाग्दै छ, ओलीलाई चाकरबाजहरुले यसैगरी डेढफुटको लिची र एभोकाडाको बिरुवाजस्तै गरी झार्दै लैजान सके भने चाँडै नारायणहरि बनाइदिनेछन् ।’

भण्डारीको उक्त लेखमा प्रधानमन्त्री ओलीलाई सुझाव दिँदै यस्तो पनि भनिएको छ– ‘समृद्ध नेपाल, सुखी नेपालीको सपना देखेर त्यसैअनुकूल अगाडि बढ्न हौसिएका ओली पछिल्लो समय वरिपरि चक्कर काट्नेहरुको चक्रव्यूहमा पर्दै गएको देखिएको छ । तर क्वाँकको बुद्धिमा ओलीजस्ता तीक्ष्ण व्यक्ति के कारणले चल्न थालेका हुन् ? मंगलबार डेढ फिटका बिरुवा रोप्दा देखिएको तामझामले नेपाललाई फलफूलमय बनाउने ओलीको ऐलानमा कत्ति सामञ्जस्य देखिएन । के प्रधानमन्त्री ओलीको भाषणलाई सिंहदरबारभित्र रोपिएका डेढ फिटका बिरुवाले धान्न सक्छन् ? के लिची काठमाडौंको चिसो तापक्रममा सप्रिने बिरुवा हो ? कदापि होइन, किनभने लिची न्यानो तापक्रममा हुर्कने र फल्ने बिरुवा हो । तर ओलीजस्ता स्वप्नदृष्टि भएका प्रधानमन्त्रीलाई चाकरबाजहरुले यसरी रिंगाइदिन सक्ने हैसियत राखेको देखियो । कि चाँडै ओलीलाई खाल्डामा जाके भने आश्चर्य नमाने हुन्छ ।

तर दौरा सुरुवाल, कोट र टोपी ढल्काएर, पञ्जा उनेर बिरुवा रोप्ने र अझ तिम्रा सुरक्षामा खटिएकाले पानीसमेत बोकेर चाकरी गर्ने नाटक प्रदर्शन गरेर तिमीले हाल्यौं । हे ओली, यसको नकारात्मक सन्देश प्रवाहित भएको छ । यो कुरा बुझ र मनन गर । यसको असर टिभीमा लाइभ हेरिरहेका सर्वसाधारणहरुमा के परेको होला ?

त्यसैले तिमीले गर्ने हरेक काम जो सार्वजनिक रुपमा प्रसारण र प्रकाशन हुन्छन्, त्यसबारे तिमी सचेत हुनैपर्छ । त्यसको के असर पर्छ भनेर तिमीले अगाडि नै अनुमान लगाइसक्नु पर्छ । होइन भने त्यो गाईजात्रा मात्र हुन्छ र त्यसको केन्द्रीय पात्र तिमी मात्र हुनेछौं, चाकरबाजहरु होइनन् ।’

यस्ता टिप्पणीहरु हरेक दिनका पत्रपत्रिकामा प्रकाशित हुने गरेको छ । प्रधानमन्त्रीको आलोचना गर्नेहरुले आलोचनाकै लागि मसी खर्च गरेका होइनन् । प्रधानमन्त्रीको कुर्चीमा बस्ने व्यक्तिले जे मन लाग्यो त्यही बोल्ने र जे गर्न मन लाग्यो त्यही गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ भनेर पत्रकार, स्तम्भकारले ओलीलाई झकझक्याउन खोजेका मात्र हुन् । तर, दोस्रोपटक प्रधानमन्त्री भएका ओलीले आफ्नो बोली र व्यवहारमा सुधार ल्याउन नसक्दा उनी आफैँ बेसारे प्रधानमन्त्री बन्न पुगेका छन् । कोरोना संक्रमणबाट जोगाउने उपाय सरकारले कसरी गरिरहेको छ भन्ने कुरा बुझ्न सांसदहरुले सदनमा प्रश्न उठाउँदा हाम्रा प्रधानमन्त्री जसरी प्रस्तुत भए, त्यो दृश्यले उनीभित्रको दम्भ प्रदर्शन गरेको थियो । भनिन्छ, ‘आफूलाई मन नपर्ने व्यवहार अरुसँग नगर्नु ।’ तर, जनतासँग सत्ताको व्यवहार अहिले त्यस्तै देखिँदैछ ।

प्रतिक्रिया दिनुहोस्