Logo
Logo

बाबुरामकै पथमा भीम रावल


शरद् रिजाल

3k
Shares

नेकपा(एमाले)बाट निष्कासित भएपछि भीम रावलले आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गर्ने जमर्को गरेका छन् । उनले पार्टी निर्माणको आधार तयार पार्न ‘मातृभूमि जागरण अभियान, नेपाल’ सुरु गरिसकेका छन् । रावलले सार्वजनिक गरेको पार्टी गठनपूर्वको उक्त अभियानको साङ्गठनिक संरचना समेत तयार पारेका छन् । उनले वडादेखि केन्द्र तहसम्मै संरचना बनाउने लिखित अवधारणा नै सार्वजनिक गरेका छन् ।

एमालेबाट निष्कासित भएपछि आगामी राजनीतिक यात्राबारे जानकारी गराउन उनले आयोजना गरेको पत्रकार सम्मेलनमा देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेका थिए । सोही अनुरूप उनले ‘मातृभूमि जागरण, अभियान नेपाल’को प्रारम्भिक अवधारणापत्र केही दिनअघि सार्वजनिक गरेका हुन् ।

उनले सार्वजनिक गरेको यस अभियान आगामी पार्टी निर्माणको साङ्गठनिक धरातल निर्माण गर्ने योजनासहित त्यसको खाका समेत प्रस्तुत गरेका छन् । सो अवधारणापत्र अनुसार वडा, पालिका, प्रदेशदेखि केन्द्रसम्म संगठन निर्माण हुनेछ । जहाँ जुन तहको भेला हुन्छ, त्यहाँ सोही तहको समिति बन्ने उल्लेख गरिएको छ । जसअनुसारको समिति १५ देखि २५ सदस्यीय रहने रावलले जानकारी दिएका छन् ।

उनले सार्वजनिक रुपमै कम्युनिष्ट नामधारी पार्टी धेरै भएकाले आफ्नो पार्टी गैर कम्युनिष्ट चरित्रको हुने अनौपचारिक रुपमा बताइरहेका बेला यस अवधारणाले गैर वाम पार्टी बनाउने आशयका उनका यस अघिका अभिव्यक्तिलाई नै पुनर्पुष्टि गरेको छ ।

राष्ट्रवादी आवरणसहितको गैर कम्युनिष्ट चरित्रको पार्टी निर्माण गर्ने रावलको अभिप्राय रहेको उनले सार्वजनिक गरेको अभियानको नामकरण र अवधारणापत्रले दर्साउँछ । नयाँ राष्ट्रवादी आवरणको दलमार्फत प्रखर राष्ट्रवादी कहलिएर नेपाली राजनीतिमा पुनरागमन गर्ने रावलको दाउ देखिन्छ ।

नेपालमा राजनीतिक जीवनको उत्तरार्धमा कम्युनिष्ट पार्टी परित्याग गर्नेहरूको सूचीमा फेरि रावलको नाम पनि दर्ज हुने भएको छ । यद्यपि कम्युनिष्ट विचारधारा नै परित्याग गरेको औपचारिक घोषणा भने उनले अझैं गरिसकेका छैनन् ।

करिब ५० वर्ष कम्युनिष्ट पार्टीमा जीवन अर्पण गरेका रावल उत्तरार्धमा कम्युनिष्ट राजनीतिबाट अलग भएर नयाँ दल निर्माणको अभ्यासमा जाने उनका अभिव्यक्ति र नयाँ दलको प्रारम्भिक अवधारणापत्रले दर्साएको छ ।

आजको एमालेका पूर्ववत् विभिन्न घटकमा समाहित हुँदै लामो समय कम्युनिष्ट राजनीतिमा बिताएका रावलले त्यसबाट निष्कासित भएसँगै गैर कम्युनिष्ट राजनीतिक यात्रामा होमिने सुर कसेका हुन् । तर, यसको राजनीतिक गन्तव्य पनि अर्का पूर्वकम्युनिष्ट माओवादी नेता बाबुराम भट्टराईको हालत हुने राजनीतिक वृत्तमा आँकलन गरिएको छ । कम्युनिष्टहरुमा पनि अझै हार्डलाइनर भनेर माओवादीहरुलाई चिनिन्छ ।

त्यसो त एमाले भित्रकै एक प्रमुख पूर्ववत् घटक कोअर्डिनेशन केन्द्र पनि हिंसात्मक संघर्षमै विश्वास गर्ने पार्टी थियो । उसले झापा विद्रोह त्यही दृष्टिकोणमा आधारित रहेर गरेको थियो । तथापि अन्य विभिन्न घटकबीच एकता भएर माले हुँदै एमाले बनेपछि झापा विद्रोहका रुपमा गरिएको हिंसात्मक सङ्घर्ष कमजोरी भएको स्वीकार गरेको छ । अहिले एमाले र माओवादी दुबैले बहुदलीय प्रतिस्पर्धालाई नै अङ्गीकार गरेका छन् । त्यही एमालेमा करिब पाँच दशक राजनीतिक जीवन गुजारेका रावल अन्ततः ओलीबाट गलहत्याइएपछि गैरकम्युनिष्ट बन्न उत्प्रेरित भएका छन् ।

उनले गैरकम्युनिष्ट बन्दा थप शक्ति आर्जन हुने अपेक्षा गरे पनि विगतकोे राजनीतिक आयामलाई लिएर आगामी यात्रा थप असहज हुने देखिन्छ । किनभने, पुरानो दार्शनिक मान्यता परित्याग गरेर नयाँ राजनीतिक यात्रा तय गर्दा विगतको राजनीतिक गतिविधिमाथि नै नैतिक प्रश्न उठ्ने गर्दछ ।

यसकै सिकार अर्का पूर्वमाओवादी नेता बाबुराम भट्टराई भएका हुन् । भट्टराईले सशस्त्र संघर्षबाटै राज्यसत्ता प्राप्ति गर्ने लक्ष्यका साथ उनीसहित प्रचण्डको नेतृत्वमा जनयुद्ध गरेका थिए । जनयुद्ध शान्ति सम्झौतामा बिसाएको करिब एक दशक नपुग्दै भट्टराईले नयाँ शक्ति अभियान भन्दै कम्युनिष्ट मान्यता विपरीतको नयाँ दल खोलेका थिए ।

अनेकौँ आरोह अवरोह पार गर्दै अहिले उनको दल अस्तित्व रक्षाको गम्भीर संकटले थलिएको छ । भट्टराईले विगतमा जुन राजनीतिक उद्देश्य लिएर दश वर्षे सशस्त्र सङ्घर्ष गरे त्यसको ठिक विपरीत सोही विचारधारा परित्याग गरेपछि आम जनमानसले विश्वास गर्न नसक्दा उनको पार्टी स्थापित हुन सकेन । रावललाई पनि विगतमा कम्युनिष्ट विचारधारा अङ्गीकारको आवश्यकता र अहिले परित्याग गर्नुपर्ने बाध्यताको पुष्टि गर्न निकै सकस पर्ने छ ।

अहिले भट्टराईकै बाटोमा रावल जान आँटेका छन् । उनले पनि कम्युनिष्ट पार्टीको नाममा प्रशिक्षित गरेका हजारौं कार्यकर्ताले बाटो बदल्दा निश्चय पनि प्रश्न गर्ने छन् । त्यतिबेला रावलले के जवाफ देलान् ?विगतमा अङ्गीकार र आवद्धता जनाएको दल र राजनीतिक विचारधारा किन असान्दर्भिक भयो र त्यसको पुनर्विचार गर्नुपर्ने अवस्था कसरी निम्तियो ?

यी यावत रावलमाथि बर्सिने प्रश्नको सामना उनले गर्नु नै पर्ने छ । जसरी भट्टराईले जुन राजनीतिक विचारधाराको आधारमा हिंसात्मक सङ्घर्षको नेतृत्व गरे र अन्तिममा सोही परित्याग गरेर नयाँ धार अँगाल्दा उनको राजनीतिक यात्रा असफल हुन पुग्यो ।

उनले एउटै जीवनकालमा अङ्गीकार गरेका दुई अलग विचारधाराको औचित्य पुष्टि गर्न नसकेपछि ओरालो राजनीतिक यात्रा सुरु भएको हो । तसर्थ रावलको पनि भट्टराईकै हालत नदोहोरिएला भन्न सकिन्न । यद्यपि भट्टराईको दलको तुलनामा रावल आबद्ध दलले भने लामो र क्षतिपूर्ण सङ्घर्ष गरेको थिएन । तथापि वैचारिक धरातल भने दुवैको समान हो । दुबैलाई उठ्ने प्रश्नका प्रकृति पनि एकै हुन् ।

त्यसैले कसैमाथि क्षति र आश्वासनको कारणले आक्रामक तवरले बढी प्रश्न उठ्ला, कसैलाई कम । तर, प्रश्न भने दुवैबाट प्रशिक्षित नेता कार्यकर्ताहरूले अवश्य उठाउने नै छन् । त्यसको तथ्यसहित आश्वस्त तुल्याउने गरी कार्यकर्तालाई जवाफ दिन नसके रावलको आगामी राजनीतिक यात्रा पनि उत्साहप्रद हुनेमा सन्देह नै छ ।

जीवनको उत्तरार्धमा कम्युनिष्ट विचारधारा नै परित्याग गर्ने अवस्थामा पुगेका यी नेताद्वय आफ्नो पार्टीमा नेतृत्वबाटै पेलानमा परेर बाहिरिन बाध्य भएका हुन् । भट्टराई पार्टीमा प्रचण्ड होउञ्जेल नेतृत्वमा पुग्न नसक्ने देखेरै बाहिरिए भने रावल नेतृत्वलाई चुनौती दिँदा राजनीतिक उपेक्षामा परेर निकालिएका हुन् । यी दुवैको समान दलगत पीडा र एकै प्रकृतिको नयाँ यात्रामा निस्किने अवस्था हालसम्मकै घटनाक्रमले देखाएको छ ।

रावल आफ्नो पार्टी गठनपूर्वको अभियान लिएर देश दौडाहामा निस्किन सुरु गरिसकेका छन् । उनले गृह प्रदेश सुदूरपश्चिम हुँदै गृह जिल्ला अछाम पुगेर यसको सुरुवात गरेका छन् । देशव्यापी ‘मातृभूमि जागरण अभियान, नेपाल’ सुरु गर्न लागेका रावलले देश दौडाहाका क्रममा नेता कार्यकर्ताकर्ताको मनोभावना बुझेर आफ्नो पुरानै विचारधारा अनुरुपको नयाँ राजनीतिक यात्रा तय गर्न सक्ने सम्भावना पनि अझै केही हदसम्म जीवितै छ ।

प्रतिक्रिया दिनुहोस्