Logo
Logo

प्रदेश मन्त्रीको स्वागतमा बालबालिकाको दुरुपयोग


11.8k
Shares

काठमाडौं । खोटाङको वराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन भएको छ । शुक्रबार कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले पालिकाको भवन उद्घाटन गरेका हुन् । 

उक्त भवन उद्घाटन कार्यक्रममा बालबालिकाको दुरुपयोग भएको छ । पालिकाले आयोजना गरिएको उद्घाटन कार्यक्रममा अध्यक्ष शालिकराम बन्जाराले बालकन्या माध्यमिक विद्यालय धर्तुङ्गका विद्यार्थीहरूलाई मन्त्री राईको स्वागतका लागि दुरुपयोग गरेका हुन् । 

अध्यक्ष बन्जाराले बालकन्याका कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई मन्त्रीको स्वागतमा प्रयोग गरेका हुन् । मन्त्री राईलाई स्वागत गर्न बन्जाराले विद्यार्थीहरूलाई पालिकाको मूल गेटबाट दुईतर्फी लाइन लगाएर राखेका थिए । 

निर्वाचन, सार्वजनिक कार्यक्रम, विभिन्न भवन उद्घाटन कार्यक्रममा बालबालिकाको प्रयोग गर्नु भनेको बाल अधिकारको गम्भीर हनन हो । नेपालको संविधानको धारा ३९(६) ले बालबालिका सम्बन्धि हकलाई मौलिक हकका रूपमा व्याख्या गर्दै बालबालिकाको कुनै प्रकारले शोषण र अनुचित प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ । बालबालिका सम्बन्धी ऐन–२०७५ को दफा ६६(२)(छ) मा राजनीतिक दलहरूले बालबालिकालाई राजनीतिक प्रयोजनका लागि सहभागी गराउन नहुने व्यवस्था छ ।

उक्त ऐन अनुसार बालबालिकालाई जुलुसमा सहभागी गराए वा राजनीतिक रूपमा प्रयोग गरे ७५ हजार रुपैयाँसम्म जरिवाना र ३ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था बालबालिका ऐनमा छ । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ मा बाल संरक्षणसँग सम्बन्धित विविध विषयगत पक्षहरूमा स्थानीय सरकारका अङ्गहरूले गर्नुपर्ने कार्यहरूलाई समावेश गरेको छ ।

संयुक्त राष्ट्रसंघीय बाल अधिकार सम्बन्धि महासन्धि–१९८९ लाई अनुमोदन गरेर नेपालले बालबालिकाको विकास, बाल अधिकारको संरक्षण र बाल सहभागिताजस्ता विषयमा अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको छ ।

उक्त प्रशासनिक भवन विसं २०७८ कात्तिक ७ गते कौशिल बस्नेत निर्माण सेवा प्रालि काठमाण्डौले कूल ६ करोड १० लाख ४५ हजार ६९४ रुपैयाँ २६ पैसा लागतमा निर्माणको ठेक्का लिएको थियो ।

निर्माण कम्पनीले २०८० वैशाख ६ गते निर्माण सम्पन्न गर्ने गरी कामको जिम्मा लिएको थियो । तर म्याद सकिएको झन्डै २ वर्षपछि आज उक्त भवन उद्घाटन गरिएको हो ।  

प्रतिक्रिया दिनुहोस्