काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहस जिल्ला अदालत रुपन्देहीमा हेर्दाहेर्दैमा राखिएको छ ।
सुप्रिम सहकारी ठगी प्रकरणमा बहस नसकिएपछि अदालतका न्यायाधीश प्रल्हादकुमार योगीले आइतबार पुनः उपस्थित हुने गरी रविलाई छोडेका छन् । आज जाहेरीकर्ताको तर्फबाट तीनजना र प्रतिवादीको तर्फबाट तीन वकिलले बहस गरे । जाहेरीकर्ताका तर्फबाट सुरेन्द्र भण्डारी, आरसी गौतम र सैलेन्द्र कुमार यादवले बहस गर्दै लामिछानेलाई थुनामा पठाउन माग गरेका थिए ।
प्रतिवादी तर्फबाट सुशील पन्त, सुरेन्द्र थापा र अर्का वकिलले लामिछानेलाई साधारण तारेखमा छोड्नुपर्नेमा जोड दिएका थिए । जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र आरसी गौतमले बहस गरेका थिए ।