Logo
Logo

क्यालिफोर्निया डढेलोबाट बेलैमा पाठ सिकौँ


630
Shares

आगोका दुई पाटा छन् । एउटा पाटोमा मान्छेको जीवन छ । अर्कोमा मरण ! दैनिक जीवनमा हामी आगोसँगको संसर्गमा हुन्छौँ । आगोबिनाको जीवन कल्पनै गर्न सकिन्न । तर, त्यही आगोलाई नियन्त्रणमा राख्ने सकेनौँ भने अकालमै जीवनै सकिन्छ । यसको एक ज्वलन्त उदाहरण हो– अमेरिका लस एन्जल्सको डढेलो ।

अमेरिकालाई विश्वकै शक्तिशाली देश मानिन्छ । तर, त्यही देश आगोसामु निरीह साबित भएको छ । ७ जनवरीमा क्यालिफोर्नियाको प्यासिफिक प्यालिसेड्सको जंगलमा अचानक आगो सल्कियो । जसले वन मात्रै नभई बस्ती नै खरानी बनायो । आगो नियन्त्रणमा लिन हजारौँ अग्नि नियन्त्रकका साथै वारुणयन्त्र र विमानहरू परिचालन गरियो । छिमेकी मुलुकहरूले समेत सहयोग गरे । तर, दुई सातासम्म पनि आगो नियन्त्रणमा आउन सकेन ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आगलागी २३ एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । यो डढेलोलाई क्यालिफोर्नियाको इतिहासकै सबैभन्दा विनाशकारी भनिएको छ । उक्त डढेलोमा परि हालसम्म २५ जनाले ज्यान गुमाइसकेका छन् भने केही बेपत्ता छन् ।

तुलनात्मक रूपमा मानवीय क्षति कम भएपनि भौतिक क्षति र पीडितहरूले भोग्नु परेको कारुणिक दृश्य अत्यास लाग्दो छ । आगलागीमा परि झन्डै दुई लाख नागरिक विस्थापित भएका छन् । अर्बौँ डलरको क्षति भएको छ । आगो निभाउने पानीको अभाव हुन थालेको छ । स्विमिङ पुलबाट समेत पानी ओसारेर आगो निभाउने प्रयास गरिएको छ ।

क्यालिफोर्नियामा स्वास्थ्य संकटकाल समेत घोषणा गरिएको छ । धुँवा र खरानीको कारण हावाको गुणस्तर खराब रहेको जनाउँदै स्वास्थ्य संकटकाल घोषणा गर्नुपरेको विज्ञहरूले जनाएका छन् । डढेलो बस्तीमा पसेर विपत्ति परेका बेला लुटपाटका घटना बढेका छन् ।

डढेलो भयानक हुनुका पछाडि मुख्य दुई कारण छन् । पहिलो–सुख्खा मौसम । दोस्रो– तीव्र गतिको हावा । क्यालिफोर्नियामा केही महिनायता पानी नै परेको छैन । दिनभरको गर्मीका कारण पातपतिङ्गर र रुखहरू सुकेका छन् । जसले गर्दा डढेलो तीव्र रूपमा फैलिएको छ ।

यस मौसममा दक्षिणी क्यालिफोर्नियामा तीव्र वेगमा हावा चल्ने गर्दछ । यसलाई ‘सेन्टा ऐना विन्ड्स’ भनिन्छ । यो हावा सामान्यतया एक सयदेखि एक सय १० किलोमिटर प्रतिघण्टाको वेगमा दक्षिणी क्यालिफोर्नियाबाट भित्री इलाका हुँदै समुद्री तटतर्फ अगाडि बढ्दछ । हावाको वेगले आगोलाई छिटो जताततै फैलाउन मद्दत गरेको छ ।

यो डढेलोले विश्व समुदायको ध्यानाकर्षणसमेत गरिरहेको छ । धेरै विज्ञहरूले क्यालिफोर्नियाको डढेलोमा जलवायु परिवर्तनको उच्च योगदान भएका बताएका छन् । जलवायु परिवर्तनका कारण हरेक वर्ष इतिहासकै उच्च तापक्रमयुक्त वर्ष बन्दै गएको छ । जसले विश्वभर नै डढेलोको जोखिम उच्च बनेको छ ।

अमेरिकाजस्तो अति विकसित राष्ट्र त आगोसामु निरीह बन्यो, नेपालमा पनि यस्तै डढेलो लाग्यो भने के होला हालत ? वनमा लागेको डढेलोको संख्या गनेर कहिलेसम्म बस्ने ? मुलुक खरानी भइराख्दा काठमाडौं, प्रदेश र गाउँगाउँका सिंहदरबारमा बस्नेहरूलाई सत्ता राजनीतिमा देखिने झिल्को नियन्त्रणमै फुर्सद छैन ।

अहिले नेपालमा सुख्खायम सुरु भइसकेको छैन । सुख्खायममा हरेक वर्ष आगलागीको घटनाबाट ठूलो क्षति हुने गरेको छ । आगलागी नभोगेको नेपालका गाउँ/सहर विरलै होलान् ? त्यसैले क्यालिर्फेनियाको जस्तो डढेलो लागे के होला भन्ने चिन्ता लिनु जरुरी छ ।

अमेरिकाजस्तो अति विकसित राष्ट्र त आगोसामु निरीह बन्यो, नेपालमा पनि यस्तै डढेलो लाग्यो भने के होला हालत ? हाम्रो जङ्गल र बस्ती पनि क्यालिफोर्निया जस्तै जोखिममा छन् । समयमै ठोस र दीर्घकालीन उपाय अपनाउन नसके, आजको क्यालिफोर्निया भोलिको नेपाल बन्न सक्दछ ।

हाम्रा कतिपय मानवबस्ती नै डढेलोको जोखिममा छन् । तर यसको नियन्त्रणका लागि संघदेखि स्थानीय सरकारसँग न त समन्वय छ, न बजेट नै । डढेलोले वन्यजन्तु, बोटविरुवा, वनस्पति, जडिबुटी र काठ–दाउरालगायतका जैविक तथा पर्यावरणीय क्षति बढ्दो छ । तर, डढेलो नियन्त्रणमा हामी सधैँ चुकिरहेका छौँ ।

आगलागी कारण बर्सेनि ठूलो क्षति हुन्छ । साथै पर्यावरणलगायत जैविक विविधता, कार्बन उत्सर्जन, पुनरुत्पादित साना बिरुवा तथा वन्यजन्तुको वासस्थानलाई प्रत्यक्ष प्रभाव पार्छ । तर, यहाँ डढेलो रोकथाम र नियन्त्रणमा कुनै प्रयास नै भएको छैन । संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र, स्थानीय प्रहरी प्रशासन, सेना, वन समूहहरू सबै डढेलो नियन्त्रणमा उदासीन छन् । एक दशकअघि नै बनाइएको वन डढेलो नियन्त्रण रणनीति अहिलेसम्म अलपत्र छ ।

९० प्रतिशत डढेलो मानवीय लापरबाहीकै कारण लाग्ने गरेको पाइन्छ । त्यसकारण डढेलो नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भनेको वनमा दाउरा, पातपतिंगरजस्ता इन्धनलाई थुप्रिन नदिनु हो । झाडी फाँड्ने, वनमा भएका सुकेका रूख र हाँगा हटाउनले पनि डढेलो नियन्त्रण गर्न सहज हुन्छ ।

त्यसका लागि जनचेतनाको वृद्धि, दण्ड सजायको व्यवस्था अर्को उपाय हुन सक्छ । सामुदायिक वनहरूको प्राविधिक क्षमता अभिवृद्धि, अग्निरेखा निर्माण, उचित वन व्यवस्थापन थप कदम हुन सक्छ । विशेषगरी सामुदायिक वनमा डढेलो लाग्दा उपभोक्तामा मात्रै भर पर्ने परिपाटीको साटो डढेलो नियन्त्रणका लागि अब स्थायी संस्थागत संरचनाको निर्माण र सुधार आवश्यक छ ।

डढेलो लागिसकेपछि नियन्त्रण गर्नुभन्दा उत्तम उपाय हो डढेलो लाग्नै नदिनु । अबको समय वनमा लागेको डढेलोको सङ्ख्या गनेर बस्नु मात्र बुद्धिमानी हुँदैन । डढेलो नियन्त्रणका स्थापित र प्रभावकारी उपाय प्रशस्त छन् । तर त्यसलाई लागू गर्न मुलुक हाँक्नेहरूको मन पनि पोलिनु जरुरी छ । विडम्बना, मुलुक खरानी भइराख्दा काठमाडौं, प्रदेश र गाउँगाउँका सिंहदरबारमा बस्नेहरूलाई सत्ता राजनीतिमा देखिने झिल्को नियन्त्रणमै फुर्सद छैन ।

स्थानीय, प्रदेश र संघ सरकारले डढेलो नियन्त्रणको योजना निर्माण गर्ने र कार्यान्वयन गर्नुपर्छ । अन्यथा नेपालभरि लागेको आगो बिनातालिम, बिनापूर्व तयारी, बिनाऔजार तथा प्रविधि अनि बिनाभौतिक पूर्वाधार निभाउन जानु भनेको मृत्युको मुखमा हामफाल्नु जस्तै हुन्छ र नियन्त्रण असम्भव प्रायः नै हुन्छ ।

वास्तवमा, वन डढेलो नियन्त्रण गर्नका लागि दीर्घकालीन योजनाहरू तर्जुमा गरी अघि बढ्नुपर्ने देखिन्छ । योजना तर्जुमा गर्दा नियन्त्रित आगलागीको आवश्यकतालाई मध्यनजर गर्नुपर्छ। भूउपग्रह प्रविधिबाट क्षेत्रगत रूपमा डढेलोको प्रचुरता अध्ययन गरी सोहीअनुरूप अग्निरेखा निर्माण गर्ने, जनशक्ति खटाउने, स्थानीय जनताको तालिममार्फत क्षमता अभिवृद्धि गर्ने कार्यहरू प्रभावकारी ढंगबाट अगाडि बढाउने हो भने वन डढेलोबाट हुने क्षति धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्