Logo
Logo
साहित्य

‘धौलागिरि छायामुनि’ : फरक आस्वाद


विवश वस्ती

1.7k
Shares

साहित्य–सर्जक छविलाल पाठकले आफ्ना बाल्य एवं प्रारम्भिक युवावय समयका भोगाइहरूलाई संस्मरण–कृति ‘धौलागिरि छायामुनि’ मार्फत शब्दबद्ध तुल्याएका छन् । मूलतः उनले जिन्दगीका पूर्ववर्ती समयलाई स्फटिक झैँ पारदर्शी र उज्ज्वल स्वरुप दिन चाहेका छन् ।

आफू बाँचेको समय र परिवेशलाई उनले बेग्लै शब्द–शैली र शिल्पमा ढालेर सजिसजाउ तुल्याउन चाहेकोसमेत प्रतीत हुन्छ । बाल्यकालीन समय वरपर आवृत्त हुँदै युवावय टेक्दासम्म तन्किएका लेखन–परिधिमा उनले आफ्ना स्मृति÷अनुभूतिलाई यति मिहिन रुपले कुँदेका छन्, जसरी एउटा शिल्पकारले सामान्य सिङ्गमरमरमा आफ्नो कला–सौन्दर्य र चेतलाई विशिष्ट रुप प्रदान गरी सिँगार्न चाहन्छन् ।

बासँग जोडिएको स्मृतिजन्य एउटा अंशलाई हेरौँ, ‘मलाई थाहा छैन । आमाले भन्नुहुन्थ्यो, ‘मेरो दूध खान छाडेको दिनदेखि नै तँ मेरो काख छाडेर बासित सुत्न थालेको थिइस् ।’ सानो छँदा बा जता जान्थे, उतै जान्थेँ रे म । पछि–पछि । भैंसी दुहुन गए, गोठमा पछि–पछि । भकारा सोहोर्न गए, मल्खातोमा पछि–पछि । घाँस काट्न गए, बारीका काल्लातिर पछि–पछि । झाँप्रो झार्न गए, बाँसघारीमा पछि–पछि । खर काट्न गए, खरबारीमा पछि–पछि । दाउरा चिर्न गए, रानी वनमा पछि–पछि । कोदो रोप्न, गोड्न वा काट्न, मकै छर्न, खन्न (उकेरा लगाउन), भाँच्न र मकैको सुलि लगाउन, भट्ट लगाउन वा भट्ट टिप्न गए बारीमा पछि–पछि । आँसी, बाउसो, बन्चरो, खन्ती अर्जाप्न गए आरनमा पछि–पछि ।

नाग पूजा, दिवाली पूजा, कुलायन पूजा, भैरवको पूजा गर्न गए थानमा पछि–पछि । अरूको घर छाउन गए, गाउँमा पछि–पछि । जन्त गए जन्तीसँगै पछि–पछि । कहिले फलाँटे, कहिले धारापानी, कहिले चितिन्गैरा, कहिले बाँसखर्क, पल्लो स्वाँर, कहिले गोतामेथर, कहिले साहुथर, कहिले मौरीभीर, कहिले रायडाँडा, कहिले बलौटे, कहिले नाउँढुङ्गा, कहिले भकुण्डे, कहिले रातामाटा । जता बा उतै म । पछि–पछि ।

धौलागिरि, एक समृद्ध हिमचुली । कालीगण्डकी, एक धार्मिक–सांस्कृतिक इतिहास बोकेको नदी । तिनै हिमचुलीको छायामुनि र कालीगण्डकीको सेरोफेरोमा उभिएको ग्रामीण परिवेशमा जन्मे–हुर्केका पाठकले बाल्यकालीन समयमा घर–संसारका साथै स्थानीय समुदायसँग एकाकार भएर जीवन व्यतीत गरे ।

किशोरकालीन समयमा पाइला चाल्दै गर्दा उनले पहाडी जीवन–शैलीसँग अलग भएर तराईको भावरमा खुट्टा टेके । यो संस्मरण–कृतिमा उनले अधिकांशतः बाग्लुङको पूर्वी भेकमा बोलिने भाषिका र तराई (बुटवल भेक) का झर्रो भाषा–शैलीलाई पछ्याएका छन्, जसले तात्कालिक समयमा ती भेकमा बोलिने ठेट भाषालाई विम्बात्मक रुपले उजागर गर्न खोजिएको छ ।

उनको सम्झनाको वृत्तमा बा छन्, आमा छिन् र दाजु–दिदीहरू छन् । स्मृति–रेखामा पारिवारिक सदस्यहरूका साथै आफन्तजनहरूसमेत अटाएका छन् । जीवनको कुइनेटोमा जम्काभेट हुन पुगेका छरछिमेकहरूका कथा–व्यथाका साथै आफ्नै घरपालुवादेखि जंगली जनावरहरूसँग जोडिएका स्मृतिजन्य पक्षहरूलाई पनि उनको यो संस्मरण–कृतिमा समेटेका छन् ।

पूर्ववर्ती समयमा ग्रामीण भेकमा सूचना, सञ्चार र मनोरञ्जनको एकल माध्यम रेडियो थियो । त्यो साधन पनि सीमित व्यक्तिहरूका पहुँचभित्र मात्र हुन्थ्यो । ग्रामीण भेकका अति सम्पन्न व्यक्तिले मात्र रेडियो किन्ने हैसियत राख्थे । उनले रेडियोसँग जोडिएको एउटा संस्मरणलाई यसरी उप्काएका छन्, ‘पिँढीमा गुन्द्री ओछ्याएको थियो । हामी चारैजना खुट्टा झुन्ड्याएर पिँढीमा बस्यौँ । एकछिनपछि दुहुने ठेकीलाई झैँ उदिन्नो लगाएको, झुम्राको पुतलीलाई जसरी लुगा लगाइदिएको, स्यानो बाकस जस्तो चिज हातमा झुन्ड्याएर ढोकाबाट बाहिर निस्कनुभयो साहुथरे माइल्दाइ । र, त्यो सानो बाकस पालि अगाडिको भित्तामा रहेको काठको किलामा झुन्ड्याउनुभयो । “के र’च भनौला, ल हेरओ” भन्दै त्यसले लगाएको कपडासमेत खोलिदिनुभयो । नाङ्गै । मौरीभीरे दाइले बनाएको काठको बाकसजस्तै ।

तर निकै सानो । आँखा नझिम्काई हेरिरह्यौँ हामीले । माइल्दाइले त्यसको माथिबाट तानेर एक हातको सुइरो निकाल्नुभयो । बिराम गर्दा आमा–बाले केटाकेटीको कान निमोठेजस्तै गरी एउटा कान बटार्नुभयो । “स्वाँ…” ग¥यो । फेरि अर्को कान बटार्नुभयो । “यो रेडियो नेपाल हो, अब …… बाट समाचार सुन्नुहोस्……।” हामीले बोल्नेजस्तै भाषा । तर के भनेको हो बुझिएन । हामी ट्वाल्ल परेर हेरिरहेका थियौँ ।’

पाठकको लेखन–शिल्प एवं शैली सामान्य र प्रवाहवान् छन् । साथै, गहिरो एवं सूक्ष्म अनुभूतिले भरिपूर्ण पनि । यस्तो महसुस हुन्छ, उनले जुन ठाउँ, परिवेश र बासिन्दाहरूका कथा कथेका छन्, त्यससँग जोडिएका स्मृति÷अनुभूतिहरू पुरानो मदिराको स्वादजस्तै तिक्खर लाग्छन् । जिब्रोमै बिलाए पनि सदैव स्मरणयोग्य ।

लेख्नु नै पथ्र्यो, उनले यो कथा । आफ्ना सुखद्–दुःखद कथा–व्यथामा अङ्कित स्वरानुभूतिलाई उनले आलापमय स्वाद चखाउनु नै पथ्र्यो । टाँग्नुपथ्र्यो त्यसमा रेशमी–स्पर्शले भरिपूर्ण सिम्फोनी–इन्द्रेनी । नलेखेका भए उनले आफ्नो पारिवारिक वृत्त–कथा, अरूका मन–मस्तिष्कले कसरी छाम्न सक्थे र ? न त चन्द्रे जेठा बा, मौरीभीरे दाइ, गणेश दाइको रेडुइ बाजो, बाल्यकालीन साथीहरूका साथै लडियाको कथा कसरी स्वादिलो तरिकाले शब्दबद्ध हुनसक्थे र ? अन्ततः उनको गहन गवेषणा र सुरस शब्द–संरचनाका कारण यो कृति पठनीय र संग्रहणीय छ । पठन–संस्कृतिलाई पछ्याउने सुधी पाठकहरूलाई यो संस्मरण कृतिले फरक आस्वाद दिलाउनेमा दुईमत देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्