काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनसँग फरक मत राखेका महामन्त्री धवलशमसेर राणाविरुद्ध संस्थापन पक्षका केन्द्रीय सदस्य संगठित रुपमा उत्रिएका छन् ।
राजधानीमा जारी राप्रपाको केन्द्रीय कार्यसमिति बैठकमा राणाले ल्याएको राजनीतिक विचारको चर्को आलोचना भएको छ । बैठकमा महामन्त्री राणाको विचार भनेर केन्द्रीय समिति सदस्यहरुलाई बाँडिएको दस्तावेजलाई महामन्त्री कुन्ती शाहीले वाचन गरेका थिए ।
त्यसपछि बोल्ने संस्थापन पक्षका केन्द्रीय सदस्यले राणाको दस्तावेज पार्टीलाई विभाजनमा लैजाने प्रकृतिको भएको भन्दै आलोचना गरेका हुन् । तीन वर्ष संगठन विभागको प्रमुखसमेत रहेर काम गरेका राणाले संगठन कमजोर भएको भन्दै अध्यक्षलाई दोषारोपण गरेपछि केन्द्रीय सदस्यहरुले तीन वर्षमा महामन्त्रीले गरेको कार्यहरुको विवरण माग गरेका छन् ।
त्यस्तै, सहमहामन्त्री प्रकाश रिमालले राजेन्द्र लिंग्देनको नेतृत्व आएपछि देशभर पार्टीको पक्षमा आकर्षण बढेका बेला नेतृत्व कमजोर बनाउने र पार्टीलाई पुन टुटफुटको शृंखलामा धेकेल्ने प्रयास भएको बताएका थिए ।