Logo
Logo

सुडानको डार्फरस्थित अस्पतालमा ड्रोन आक्रमण, ३० जनाको मृत्यु


819
Shares

एजेन्सी । सुडानको डार्फर क्षेत्रको अल–फशेरमा रहेको अन्तिम अस्पतालमा ड्रोन आक्रमण हुँदा ३० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् ।

शुक्रबार साँझ साउदी अस्पतालमा भएको बम विष्फोटले यस क्षेत्रका बिरामीको आकष्मिक उपचार गर्नका लागि उपलब्ध एक मात्र अस्पतालको भवन ‘ध्वस्त’ पारेको स्रोतले एएफपीलाई बताएको छ ।

सुडानमा युद्धरत कुन पक्षले आक्रमण गरेको हो भन्ने तत्काल स्पष्ट हुन सकेको छैन ।

अप्रिल २०२३ देखि सुडानी सेना अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ)सँग युद्धमा छ । समूहले डार्फरको लगभग सम्पूर्ण विशाल पश्चिमी क्षेत्र कब्जा गरेको छ ।

उनीहरूले उत्तरी डार्फरराज्यको राजधानी अल–फाशेरलाई गत मे देखि नै घेराहालेका छन्, तर सेनासमर्थित मिलिसियाले पटक–पटक प्रतिकार गरी उनीहरूलाई पछि धकेलेको थियो र उनीहरूले शहरमा आफ्नो दाबी गर्न सकेका छैनन् ।

मेडिकल स्रोतका अनुसार सोही भवनमा केही हप्ताअघि आरएसएफको ड्रोनले आक्रमण गरेको थियो ।

अल–फाशेरमा स्वास्थ्य सेवामा आक्रमण व्यापक रूपमा भइरहेको छ, जहाँ ‘डक्टर्स विदाउट बोर्डर्स’ले यसै महिना साउदी अस्पताल ‘शल्य चिकित्सा क्षमता भएको एक मात्र सार्वजनिक अस्पताल भएको’ बताएको थियो ।

सरकारी तथ्याङ्कअनुसार लडाईँका कारण देशभरका ८० प्रतिशतसम्म स्वास्थ्य संस्था सेवाबाट बञ्चित भएका छन् ।

यस युद्धले अहिलेसम्म दशौं हजारको ज्यान लिइसकेको छ, एक करोड २० लाखभन्दा बढीलाई विस्थापित गरेको छ र लाखौँलाई सामूहिक भोकमरीको सङ्घारमा पु¥याएको छ ।

संयुक्त राष्ट्रसङ्घ समर्थित एक आँकलनअनुसार अल–फशेर आसपासका क्षेत्रमा तीन विस्थापन शिविरहरू जमजम, अबु शौक र अल–सलाममा अनिकालले कब्जा जमाइसकेको छ र मे सम्ममा शहरसहित थप पाँच क्षेत्रमा विस्तार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्