Logo
Logo

गठबन्धन अप्राकृतिक भयो भन्दै प्रचण्ड मजाक गरेर हिँडेका छन् : शंकर पोखरेल


882
Shares

महोत्तरी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुक राजनीतिक अस्थिरता र आर्थिक संकटमा गुज्रिएको बेला एमाले नेतृत्वको वर्तमान सरकार बनेको बताएका छन् । आइतबार बिहान प्रेस चौतारी नेपाल महोत्तरीले बर्दिबासमा आयोजना गरेको पकार सम्मेलनमा बोल्दै नेता पोखरेलले यस्तो बताएका हुन् ।

उनले यसबिचमा केही सुधारका काम भएको र त्यसको परिणाम देखिन थालेको बताए । नयाँ सरकार बनेपछि पुँजीगत खच बढेको, विदेशी मुद्राको सञ्चिति बढेको र आर्थिक क्षेत्र चलायमान भएको उनले दावी गरे । तैपनि आर्थिक क्षेत्रमा केही समस्या देखिएको भन्दै उनले दुई दलीय संयन्त्र बनाएर सरकाले आर्थिक क्रियाकलाप सुधारको लागि सरकारले पाँचवटा अध्यादेश ल्याएको बताए ।

संसदीय प्रक्रियामा कानुन बनाउन केही लामो समय लाग्ने र मुलुकको आर्थिक संकट लामो समयसम्म पर्खेर बस्ने अवस्था नभएकोले सरकारले ती अध्यादेश ल्याएको उनको भनाइ थियो । नेपालका व्यावसायिक संस्थाहरूले अध्यादेशको खुलेर समर्थन गर्नुले पनि यसको आवश्यकता पुष्टि भएको नेता पोखरेलले बताए ।

नेता पोखरेलले भने, ‘राजनीतिक अस्थिरतामा खेल्न चाहनेहरूले यो सरकार आजै ढल्छ, भोलि नै ढल्छ भन्ने प्रचार गरिरहेका छन् । तर, त्यसमा कुनै सत्यता छैन ।’ प्रतिपक्षमा हुँदैमा विरोध गर्नुपर्छ भन्ने मानसिकता त्याग्नु पर्नेमा उनले जोड दिए । दुई पार्टीको समझदारीमा बनेको सरकार भएकोले सरकार ढल्ने कुनै सम्भावना नरहेको उनले बताए ।

लोकतन्त्रमा जनताले पत्याएका दलले नै शासन गर्नुपर्ने बताउँदै उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले गठबन्धन अप्राकृतिक भयो भन्दै मजाक गरेर हिँडेको बताए । उनले भने, ‘कमजोरले शासन गर्ने होइन, ठुला दललाई सहयोग गर्ने हो, कमजोरले शासन गरेर देश कहिल्यै बन्दैन, बलियाहरूले नै हो, जनादेश पाएकाले नै हो देशको नेतृत्व गर्ने हो ।’

प्रतिक्रिया दिनुहोस्