Logo
Logo

मधेशमा पुनः मतदान गर्न प्रचण्ड पक्षधर विद्यार्थी नेताको माग


1.8k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षधर विद्यार्थी नेताले मधेसमा पुनः निर्वाचन हुनुपर्ने माग गरेका छन् ।

अखिल क्रान्तिकारीको शनिबार सम्पन्न निर्वाचनको मतगणनाको क्रममा मधेशको मतपत्रमा विवाद देखिएपछि पुनः मतदानको माग गरिएको हो । मधेशमा १५९ मत खस्दा १५४ मत देखिएपछि विवाद उत्पन्न भएको छ । मतगणना प्रतिनिधिमा विवाद भएपछि हाल गणना स्थगित छ ।

प्रचण्ड पक्षबाट उपमहासचिवको उम्मेदवारी दिएका कुन्दन महतोले पुनः निर्वाचन नभए मतपरिणाम अस्वीकार गर्ने बताएका छन् । उनले लोकतन्त्रमा पाँच मतको ठूलो महत्व हुने बताउँदै भने, ‘हामीले फेरि मतदानको माग गरेका छौं ।’ मधेशमा पुनः मतदान नगरी मतपरिणाम गरिए बहिष्कार गर्ने उनले बताए ।

तर, अर्को पक्षले भने पुनः मतदान गर्न सम्भव नहुने बताउँदै आएका छन् । जनार्दन शर्मानिकट विद्यार्थी नेता क्षितिज सापकोटाले पुनः मतदान गर्न सम्भव नभएको बताए । संस्थापन पक्षलाई मधेशको मतगणनाको क्रममा मतपत्रमा पानी खन्याएको प्रचण्ड पक्षको आरोप छ ।

मधेशमा अध्यक्ष पदका उम्मेदवार उपेदश यादवको पक्षमा अन्यको भन्दा बढी मत खसेको थियो । यादवले ७० पाउँदा प्रचण्डका अन्य उम्मेदवारहरु विजयप्रकाश शर्मा सापकोटाले ४१, हेमन्त राईले ४० र सुदिन पौडेलले एक मत पाएका छन् ।

सापकोटा पार्टी अध्यक्ष प्रचण्ड पक्षधरका हुन् भने राई उपमहासचिव जनार्दन शर्मा निकट मानिन्छन् । यादव उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पक्षधर हुन् । अखिल क्रान्तिकारीको निर्वाचनमा तीन प्यानल प्रतिस्पर्धामा थिए ।

प्रतिक्रिया दिनुहोस्