काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विनिता कठायतले २९ पुसमा कृषि समितिका सदस्यहरू बसेको होटलको सीसीटीभी फुटेज झिकाउन माग गर्दै उजुरी दिएका छन् ।
प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसद कठायतले पोखरास्थित होटल ओपन हाउसबाट राति ८ देखि १० बजेसम्मको सीसीटीभी फुटेज झिकाउन माग गर्दै उजुरी दिएका हुन् ।
उनले सो दिन भएको खर्चको विवरणसहितको बिल भरपाइ झिकाउन समेत माग गरेका छन् । गत बुधबार बसको समितिमा कठायतले स्थलगत अनुगमनमा जाँदा आफू र आफ्नो पार्टीका सांसदहरुमाथि दुव्यर्वाहार भएको भन्दै आपत्ति जनाएका थिए ।
बैठकमा पोखरामा रक्सी खाएको अवस्थामा आफू र आफ्ना पार्टीका सांसदमाथि कांग्रेस र एमालेका सांसदहरुले व्यक्तिगत तवरका आपत्तिजनक कुरा गरेको भन्दै आक्रोश पोखेका थिए ।
कठायतले कृषि समितिकी सभापति कुसुमदेवी थापा, सांसद वीरबहादुर बलायर र सरस्वती सुब्बासहितका सांसदले खाना खाने बेला दुर्व्यवहार गरेको दाबी गरेका थिए ।