सुनसरी । इटहरी उपमहानगरपालिकामा जनप्रतिनिधि र कर्मचारीहरूको आन्दोलन सेवाग्रही मारमा परेका छन् ।
उपप्रमुख र वडाध्यक्षसहितको टोलिले प्रशासन शाखामा शुक्रबार ताला लगाएको थियो । त्यसैको प्रतिरोध गर्दै कर्मचारीहरुले आइतबार कार्यलयमा ताला लगाएका हुन् । कार्यालयमा ताला लगाएपछि कर्मचारीहरु प्राङ्गणमा घाम तापेर बसेका छन् ।
जनप्रतिनिधि र कर्मचारी आन्दोलनले सेवाग्रही भने प्रभावित बनेका छन् । सेवा लिन आएका सेवाग्राहीहरुलाई कार्मचारीहरूले प्रशासनमा ताला लागेको फर्काउने गरेका छन् ।
एमालेबाट वडाध्यक्ष निर्वाचित भएका वडाकार्यालयहरूको सर्भर बन्द गरेको भन्दै उपप्रमुख संगीता चौधरी लगायतको टोलीले प्रशासन शाखामा ताला लगाएको थियो ।
आफूहरूलाई कुनै जानकारी नदिई वडा कार्यालयको सर्भर बन्द गरेर जनतालाई दुख दिएको चौधरीसहितका जनप्रतिनिधिको गुनासो छ ।
इटहरी उप महानगर पालिकाका प्रशासन शाखा प्रमुख सञ्जीव खड्काले मेयर हेमकर्ण पौडेलको निर्देशनमा सर्भर बन्द गरेको उपमेयर चौधरीको आरोप छ । सरुवा गरिएका कर्मचारीलाई दबाब दिन सर्भर डिएक्टिभ गरेको चौधरीको आरोप छ । केही दिनअघि उपमहानगरले कार्यालयको ‘आन्तरिक’ सरुवा गरेको थियो ।
वडाको कामहरूलाई प्रभावित पार्ने गरी अनावश्यक कर्मचारी चलाएको आरोप कार्यपालिका सदस्य प्रमोद शेर्पा, वडाध्यक्षहरू जितेन थापा, उमेश सुवेदीलगायतले लगाउँदै आएका छन् ।