काठमाडौं । ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ महाकवि लक्ष्मीप्रसाद देवकोटाले लक्ष्य ठूलो राख्न लाक्षणिक रूपमा यसो भनेका थिए । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पनि यस्तै लक्ष्य राखेका छन् । त्यो हो– देशको नेतृत्व गर्ने ।
गगनले हरेक भाषणमा आफूलाई भावी प्रधानमन्त्रीको रूपमा स्थापित गर्ने प्रयास गरिरहेका छन् । आइतबार भक्तपुरमा मीनकुमारी राणा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले एकपटक उक्त चाहना जाहेर गरे । उनले आफू प्रधानमन्त्री बने अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रो काम गर्ने दाबी गरे ।
उनले भने, ‘म अहिलेको प्रधानमन्त्री वा हुनेवाला प्रधानमन्त्री वा अस्ति भर्खर हुनुभएको प्रधानमन्त्री भन्दा हामी राम्रो प्रधानमन्त्री चलाउन सक्छौँ भन्ने कुरा म अहिले पनि विश्वास गर्दछु, आजको प्रधानमन्त्रीको ठाउँमा आजै बेलुका गएर हामीमध्ये कसैलाई प्रधानमन्त्री बनाउने हो भने अहिले चलाएको भन्दा राम्रो चलाउँछौँ । यति कुरा दावाका साथ भन्न सक्छु ।’
त्यसो त प्रधानमन्त्री बन्नकै लागि गगन पार्टी सभापति शेरबहादुर देउवासँग संसदीय दलको नेतामा लडेका पनि थिए । तर, उनी देउवासँग दोब्बर मतान्तरले पराजित भए । देउवाको पक्षमा ६४ र गगनको पक्षमा २५ मत प¥यो ।
त्यसपछि गगन आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने रणनीतिमा लागेका छन् । उनलाई काँग्रेसभित्रका धेरै युवा नेताहरूको साथ छ । त्यसबाहेक अरु पार्टीका युवा नेता र आम युवा पङ्क्तिको ठूलो सहानुभूति छ । बुढापाका नेताहरूबाट वाक्कदिक्क भएका युवामा पनि गगन प्रधानमन्त्री बनेको हेर्ने चाहना छ ।
त्यो भावना बुझेका गगनले आफूलाई सुझबुझ तरिकाले भावी प्रधानमन्त्रीको रूपमा अघि सारिरहेका छन् । तर, गगनको प्रधानमन्त्री हुने सपना सहजै भने पूरा हुने अवस्था देखिँदैन ।
गगनको लोकप्रियता घट्दो
पछिल्लो समय गगनको लोकप्रियता घट्यो छ । उदयमान पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँगको टकराबका कारण पनि उनको लोकप्रियता खस्कँदो छ । लामिछानेले सहकारीबाट केवाइसी फारम भरेरै सहकारीबाट ऋण लिएको प्रमाण आफूसँग भएको दाबी गर्दै आएका थिए ।
रविले फारम भरेर सहकारी लिएको प्रमाण आफूसँग भएको दाबी गर्दै संसद् र पत्रकार सम्मेलन गरेरै देखाएका थिए । तर, प्रहरीले रविलाई ८४ दिन हिरासतमा राखेर छानबिन गर्दा पनि उक्त प्रमाण भेटाएन । गगनले पनि उक्त प्रमाण प्रहरीको साथै सम्बन्धित निकायमा दिन सकेनन् । त्यसले अहिले गगनलाई ‘प्रमाण खोइ’ भन्दै प्रश्न गर्नेको सङ्ख्या बढ्दो छ ।
गगनले अहिलेसम्म उक्त प्रश्नको जवाफ दिन सकेका छैनन् । उनी त्यो प्रश्नबाट भागिरहेका छन् । त्यसैले गगन राजनीतिक स्टनको लागि जे पनि बोल्ने÷गर्ने नेताको रूपमा चित्रित हुँदै गएका छन् । यसले गगनलाई विश्वास गर्ने युवाको सङ्ख्या दिनप्रतिदिन घट्दै गएको छ ।
एक्लिँदै गगन
पछिल्लो समय गगन आफ्नै पार्टीभित्र एक्लिँदै गएका छन् । उनी आफ्नो गुटबाट पनि एक्लो भएका छन् । गगनले अनलाइन खबरलाई दिएको अन्तर्वार्ताले पनि उक्त कुराको पुष्टि गर्छ । अन्तर्वार्तामा गगनले अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगको सम्बन्ध आगामी महाधिवेशन पछि जाने तर शेखरसँगको सम्बन्ध भन्न नसक्ने बताएका थिए ।
थापाले भनेका छन्– ‘विश्वप्रकाश शर्मासँगको सहयात्राको कुरा चाहिँ यो अधिवेशन मात्रै होइन, अगाडिका अधिवेशनसम्म जान्छ । सम्बन्धमा तल–माथि हुँदैन । पूर्ण विश्वासका साथ भन्न सक्छु विश्वप्रकाशको सम्बन्धमा किन भन्न सकेँ भने उहाँसँग निरन्तर संवादमा छु । मैले सोचे जस्तै उहाँले कसरी सोच्नुभएको छ भन्ने मलाई थाहा छ, म शेखर डा. साबसँग संवादमा छैन । उहाँ कसरी सोचिरहनुभएको छ, मलाई थाहा छैन ।’
कसरी बिग्रियो शेखर–गगन सम्बन्ध ?
नेकपा एमालेको समर्थनमा केदार कार्कीलाई कोसी प्रदेशको मुख्यमन्त्रीमा अघि सार्दै काँग्रेसका नेता शेखर कोइरालाले काठमाडौँको सत्ता गठबन्धनलाई चक्मा दिए । कार्कीको नाम सुन्न नचाहेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष समेत रहेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि कार्कीकै नाममा सहमति जनाउन बाध्य भए ।
तर कोसीको कम्पन यत्तिमै सकिनेवाला देखिंदैन । कोसी घटनापछि काँग्रेसको १४औँ महाधिवेशनमा बनेको शेखर–गगन समूहको एकता खलबलिएको प्रस्ट संकेत देखिन थालेको छ । १४औँ महाधिवेशनमा जोडिएका डा. शेखर र गगनबिच सुरूदेखि नै थोरै अविश्वास र थोरै तनावको सम्बन्ध थियो । डा. शेखरलाई कुनै पनि बेला गगनले धोका देला कि भन्ने त्रास थियो ।
मन्त्री नियुक्ति लगायतका सन्दर्भमा डा. शेखरले सभापतिसँग एकलौटी डिल गर्दा गगनले गुनासो मात्रै गरे, विद्रोह गरेनन् । तर कोसी घटनाले शेखर र गगनको दुरी बढायो । कोशीमा एमालेसँग मिलेर केदार कार्कीलाई मुख्यमन्त्री बनाउने क्रममा डा. शेखरले महामन्त्री गगन थापासँग संवाद नै गरेका छैनन् ।
पछिल्लो पटक कोइराला र थापाबीचको मुख्य टक्कर कोसी प्रदेशमा देखिएको छ । कोसीमा कोइराला पक्षधरले मङ्सिर १८ मा पालिका तहका सभापतिहरूको भेला डाकेका थिए । त्यसको प्रमुख अतिथि कोइराला आफैँ थिए । त्यस्तो भेला पार्टीको विधानभन्दा बाहिर भएको भन्दै रोक्ने प्रयास महामन्त्री थापाबाट भएको बुझाइ कोइराला पक्षीय नेताहरूको छ । भेला रोक्ने उद्देश्यबाट पार्टीका मुख्य सचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गरेर मङ्सिर २२ अघि कुनै प्रदेशमा पनि पार्टीको कार्यक्रम नभएको उल्लेख गरेका थिए ।
त्यसको झोकमा कोइरालाले आफ्नै गृहनगर विराटनगरमा भएको मङ्सिर २२ को कोसी प्रदेश सम्मेलन बहिष्कार गरे । आफूसँग सम्मेलनबारे परामर्श नगरिएको भन्दै कोइराला त्यो दिन चितवन पुगेका थिए । यी घटनाक्रमले सार्वजनिक मञ्चमा समेत कोइराला र थापाबीच घोचपेच हुन थालेको छ ।
देउवासँग नजिकिने प्रयास
काँग्रेसको आगामी महाधिवेशन कहिले हुने भन्ने टुंगो नलाग्दै नेतृत्वका लागि पार्टीभित्र ध्रुवीकरण बढाउने कसरत हुन थालेको छ । विधानले दुई कार्यकालभन्दा बढी नेतृत्वमा बस्न नपाउने व्यवस्थाका कारण पार्टी सभापति शेरबहादुर देउवा आगामी महाधिवेशनदेखि कार्यकारिणी भूमिकाबाट निवृत्त हुँदै छन् । उनको निवृत्तिसँगै कांग्रेसभित्र परम्परागत गुट भत्किएर नयाँ ध्रुवीकरण सु? हुने सम्भावना देखिएको छ ।
सभापति देउवाले आफ्नो उत्तराधिकारी तयार पारिसकेका छैनन् । पार्टी नेतृत्वका आकांक्षीहरू उनको साथ र समर्थन लिने कसरतमा छन् । संस्थापन पक्षभित्रै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला देउवाको साथ–समर्थन लिने दौडमा छन् । तर देउवाले संगठनमा पकड राखेका इतरपक्षका नेता शेखर कोइराला र महामन्त्री गगन थापाप्रति झुकाव राख्ने गरेको चर्चा कांग्रेस वृत्तमा छ ।
संस्थापन पक्षमा बालकृष्ण खाण, एनपी सावद, प्रकाशशरण महत, मोहनबहादुर बस्नेतलगायतका नेताले शेखर कोइरालाप्रति सकारात्मक सद्भाव देखाउन थालिसकेका छन् । देउवाले भने राष्ट्रिय राजनीतिका निर्णायक भूमिका र छलफलमा महामन्त्री थापालाई अघि सारिरहेका छन् । उनको रोजाइ कोइराला र थापामध्ये को हो भन्ने प्रस्ट भने छैन । अर्कातर्फ यी दुई नेताबीचको टक्करले पार्टीभित्र नयाँ ध्रुवीकरणको पैरवी पनि हुन थालेको छ ।
शेखर रणनीति
शेखर आफ्नो समूहलाई थप बलियो बनाउने रणनीतिमा जुटेका छन् । यस क्रममा शेखरले संस्थापनलाई दबाब बढाउने कार्यक्रम गर्ने, दोस्रो तहका नेतालाई आफ्नै वरिपरि राख्ने र युवा नेतालाई समेट्ने कार्यक्रम बनाइरहेका छन् ।
सभापतिका एउटा दाबेदार थापा आफ्नो समूहमा नरहेपछि शेखरले आफ्नै हिसाबले महाधिवेशनमा अगाडि बढ्ने रणनीति अख्तियार गरेका छन् । यसैले १५औँ महाधिवेशनमा सभापतिमा उठ्ने सार्वजनिक गर्दै शेखरले तयारीलाई अगाडि बढाएका हुन् ।
‘म सभापतिमा उठ्ने क्लियर छ । गगनजी के गर्नुहुन्छ, उहाँको कुरा हो,’ शेखरले केही समयअघि चितवन पुगेर सञ्चारकर्मीसँग भनेका, ‘उहाँले के गर्नुहुन्छ, उहाँसँग सोध्नुस् ।’
रविको बचाउमा शेखर
रास्वपा सभापति रवि लामिछानेविरूद्ध सबैभन्दा बढी लागेका व्यक्ति हुन, कांग्रेस महामन्त्री गगन । तर, कङ्ग्रेसकै नेता शेखर कोइराला रविको बचाउमा लागेका छन् । आगामी महाधिवेशनमा गगनसँग सभापति प्रतिस्पर्धा गर्नुपर्ने स्थिति सिर्जना हुँदै गएको छ । त्यसैले रविकै कारण गगनलाई कमजोर पार्ने शेखर पक्षको रणनीति छ ।
रविलाई रातारात चितवनबाट पोखरा लग्दा पनि शेखरले आपत्ति जनाएका थिए । मङ्सिर २२ गते भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले राति १२ बजे लामिछानेलाई चितवनबाट उठाएर पोखरा लैजानु अमानवीय व्यवहार भएको टिप्पणी गरेका थिए ।
‘नेपाली कांग्रेस मानव अधिकार र लोकतन्त्रप्रति प्रतिबद्ध छ । रविजीको विषयमा अदालतले आफ्नो प्रक्रिया अघि बढाइरहेको छ । त्यसमा मेरो केही भन्नु छैन, तर राति १२ बजे उठाएर लैजाने भन्ने कुरा चाहिँ अमानवीय काम हो’, कोइरालाले भनेका थिए, ‘यो रविजीको मात्रै कुरा होइन, कसैलाई पनि यस्तो गर्न हुँदैन । हाम्रो लोकतान्त्रिक देशमा त्यसो गर्नु विल्कुल गलत हो ।’