काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी पहाडी जिल्ला तेह्रथुम भ्रमणमा गएका छन् ।
आज र भोलि तेह्रथुमका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुन उनी नेपाली सेनाको हेलिकोप्टरमार्फत त्यसतर्फ गएका हुन् । प्रचण्डसँगै माओवादी उपमहासचिव वर्षमान पुन पनि रहेका छन् ।
प्रचण्डले आज लालीगुराँस नगरपालिका– ७ लसुनेस्थित शहीद धनरूपा पार्कको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि उनी प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो आठराई जाने छन् ।
उनले आठराई गाउँपालिका– ३ ह्वाकु बगाले शहीद स्मृति पार्क र सोही स्थानमा जनयुद्ध तथा शान्ति सङ्ग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम छ ।
उक्त स्थानमा २०५८ साल माघ २४ गते सुरक्षाकर्मीको कारबाहीमा १८ माओवादी सेनाका लडाकु र तीनजना सर्वसाधारणको मृत्यु भएको थियो ।
प्रचण्डले आजै आठराई– २ स्थित पर्यटकीय क्षेत्र झाँक्री गुफा पार्कको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ । उनी आज राति आठराई– ६ चुहानडाँडा बजारमा बास बस्नेछन् ।
मंगलबार बिहान आठराई– ६ मा पार्टी कार्यकर्ता, स्थानीय तथा स्वर्गीय माओवादी नेता भक्तराज कन्दङवाका परिवारसँग भेटघाट गर्ने प्रचण्डको कार्यतालिका छ । त्यसपछि उनले कन्दङवाको सालिक अनावरण गर्नेछन् ।
दिउँसो तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा पार्टीको तेह्रथुम जिल्ला स्तरीय कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर उनी काठमाडौं फर्कने माओवादी केन्द्र तेह्रथुमका नेता रघु गौतमले जानकारी दिए ।