काठमाडौं । कैलालीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका–६ बस्ने १५ वर्षीय किशोरीमाथि चार जनाले सामूहिक बलात्कार गरेका हुन् ।
बलात्कार आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जोशीपुर–१ का १८ वर्षीय सुमन डगौरा र १८ वर्षकै कुशल चौधरी रहेका छन् ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कबिन्द्रसिंह बोहराले जानकारी दिए ।
उनकाअनुसार बलात्कारमा संलग्न अन्य दुई जना भने भारततर्फ भागेको प्रहरीले जनाएको छ । भारत भाग्नेमा १८ वर्षीय राजकुमार चौधरी र १९ वर्षीय आशिक चौधरी रहेका छन् ।
उनीहरू चार जनाले किशोरीमाथि २२ मंसिरमा सामूहिक बलात्कार गरेपनि ढिलो गरी खबर आएको प्रहरीले जनाएको छ । उनीहरूविरूद्ध जबरजस्तीकरणी शीर्षकमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।