काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको मतगणना विवादमा सहमति जुटेको छ ।
उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको मतपत्रमा प्रयोग भएको रातो र नीलो दुवै मसीलाई मान्यता दिने सहमति भएसँगै विवाद टुंगिएको हो ।
मतपत्रमा प्रयोग भएको मसीको विवादको कारण शनिबारदेखि नै यी दुई प्रदेशको मतगणना हुन सकेको थिएन । तर आज सहमित जुटेसँगै मध्यान्ह १२ बजेबाट मतगणना शुरू हुने भएको छ । रातो र नीलो दुवै मसीलाई मान्यता दिने सहमति भएसँगै आज मध्यान्ह १२ बाट मतगणना हुने क्रान्तिकारीकी निवर्तमान अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।
सात प्रदेशको मतगणना सकिएपछि प्रदेशहरू मध्ये सबैभन्दा बढी मतदाता रहेको विशेषमा २६४ र विश्वविद्यालयमा २५८ मत गणना हुन बाँकी छ । गणना भइसकेकोतर्फ सात प्रदेशमा हेडक्वार्टरका उम्मेदवार विजयप्रकाश सापकोटा २२ मतले अगाडि छन् । उनलाई उपमहासचिव जनार्दन शर्मामा उम्मेदवार हेमन्त राईले कडा टक्कर दिएका छन् ।