Logo
Logo

रविविरुद्ध चितवनमा मुद्दा दर्ताकाे तयारी


2.9k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि सहकारी ठगी अभियोगमै मुद्दा दर्ताको तयारी भएको छ ।

सहारा चितवन सहकारी ठगीमा अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालय चितवनले रविसहित १४ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्ने तयारी गरेको हो ।

प्रहरीले पूर्वगृहमन्त्री समेत रहेका लामिछाने, नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, प्रहरीकै पूर्वअसई रामबहादुर खनाल र कुमार रम्तेलसहित १४ जनालाई प्रतिवादी बनाउन सरकारी वकिललाई राय दिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले प्रहरी प्रतिवेदनका आधारमा लामिछानेसहित १४ जनाविरुद्ध मुद्दा दर्ताका लागि फाइल तयार भएको बताए । उनले यहि माघ २२ गतेसम्म अदालतमा अभियोजन दर्ता गरिसक्ने तयारीमा रहेको बताए ।

लामिछानेसहितका १४ प्रतिवादीबाट ३८ करोड ९ लाख ७९ हजार एक सय ७७ रुपैयाँ बिगो भराउनुपर्ने प्रहरीको राय छ । उनीहरूलाई सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलाउने सरकारी वकिलले तयारी गरेको छ ।

लामिछाने आइतबार मात्र बुटवलस्थित सुप्रिम सहकारी ठगीमा रुपन्देही जिल्ला अदालतमा १ करोड धरौटी बुझाएर रिहा भएका छन् । त्यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्