काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसदले नै प्रधानमन्त्रीमाथि गम्भीर प्रश्न उठाएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटनका लागि पुगेका प्रधानमन्त्री ओलीलाई भक्तपुर–२ बाट निर्वाचित सांसद दुर्लभ थापाले भक्तपुरको विकास किन अवरुद्ध भयो भन्दै प्रश्न उठाएका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले भने– ‘विकास निर्माणका प्रक्रिया र गतिहरू रातारात र कुनै जादुमयी ढंगले हुन सक्दैन भन्ने लागेको छ । मैले पढेको बढेको स्कुल भत्काएर नरपालिकाको भवन ठड्याएको परिस्थिति छ । हुन त विकास कटुन्जेबाट सुरु भएको तर अहिले विकासमा पछि परेको छ, देशको आर्थिक स्थितिको बारेमा प्रधानमन्त्री जानकार हुनुहुन्छ । रातारात मैले खल्तीबाट मैले विकास गरेको छु भन्ने लागेको छ भने म यो भ्रमबाट बाहिर निस्कन आग्रह गर्दछु ।’
उनले हिजो अर्को जनप्रतिनिधि हुँदा विकास निर्माणमा आफूले सहयोग गरेको भन्दै अहिले किन अवरुद्ध भइरहेको छ भनेर प्रश्न गरे । ‘म विकास खोज्दै सम्माननीय प्रधानमन्त्रीलाई प्रश्न गर्न चाहन्छु –भक्तपुरको विकास तपाईंले कहाँ अड्काउनुभयो ?’ थापाले भने, ‘म भक्तपुरका जनताका तर्फबाट प्रश्न गर्न चाहन्छु विकास निर्माणको गतिको जिम्मा सरकारको नेतृत्वले लिने कि नलिने ? विकास निर्माणको प्रक्रिया कहाँ रेकियो भनेर गाँठो फुकाउनुपर्छ कि पर्दैन ?’
उनले जनप्रतिनिधि विशेषका आधारमा विकास निर्माणको प्रक्रियामा सरकारको नेतृत्वले सहयोग र असहयोग गर्न मिल्छ कि मिल्दैन भन्दै प्रश्न गरे । उनले निर्वाचनमा प्रतिस्पर्धा हुने भन्दै निर्वाचित भएका जनप्रतिनिधिलाई हारेका व्यक्तिले अवरोध गर्नु नहुने बताए । उनले प्रधानमन्त्रीलाई रोकिएकै ठाउँबाट सुचारु गरिदिन आग्रह गरे ।
नेपाली कांग्रेसको सभापति भएर नौ वर्ष काम गर्दा जोसुकै जनप्रतिनिधिलाई सघाएको भन्दै आफू जनप्रतिनिधिको हैसियतमा काम गर्दा असहयोग नगर्न आग्रह गरे ।