काठमाडौं । सम्मोहन कलामा निपूर्ण व्यक्तिहरूलाई सम्मोहनकर्ता भनिन्छ । यी व्यक्तिहरू मानिसको मनलाई प्रभावित गर्ने विशेष कला तथा सीपमा निपूर्ण हुन्छन् । यस्तै अद्भूत कला तथा विलक्षण प्रतिभा भएका व्यक्ति हुन् नापी कार्यालय रुपन्देहीका नापी अधिकृत (निमित्त कार्यालय प्रमुख) सुग्रिव यादव । उनी सर्भेक्षक हुँदादेखि नै नापी कार्यालय परासीको नापी अधिकृतको दरवन्दीमा निमित्त कार्यालय प्रमुख भई बर्षौ कार्यालय चलाए ।
विशेष गरी परासी र कपिलबस्तुमा निमित्त कार्यालय प्रमुख भए । यिनी नापी अधिकृतमा बढुवा हुँदा नापी कार्यालय परासी र कपिलबस्तुमा प्रमुख नापी अधिकृतको दरवन्दी लागु भइसकेको थियो भने नापी कार्यालय रुपन्देहीमा ३ नं. नापी गोश्वारा गाभिएकाले २०६५ सालदेखि नै प्रमुख नापी अधिकृतको दरवन्दी रहेको थियो ।
नापी कार्यालय परासीमा विदेश पढ्न गएका अध्ययन बिदामा रहेका प्रमुख नापी अधिकृत नवराज सुवेदीको दरवन्दी राखी नापी अधिकृत सुग्रिव यादवले लामो समय निमित्त कार्यालय प्रमुख चलाए । नापी अधिकृत कैलाशनाथ पाण्डेलाई पढ्दै नपढी ल्याएको प्रमाणपत्रका आधारमा प्रमुख नापी अधिकृतमा बढुवा गराउन विशेष खुराफाती भूमिका खेलेका यादवले परासीमा रहँदा आफूले गरेका कर्तुतहरुको ढाकछोप गराउन उनै पाण्डेलाई परासीको प्रमुख नापी अधिकृतमा पदस्थापन गराई आफू नापी कार्यालय मनमैजुतिर हानिए । प्रमुख नापी अधिकृत कैलाशनाथ पाण्डेले बढुवा हुँदा पेश गरेका Bachelor of Science (B.Sc.) (Hons.) in Environmental Science /Master of Science (M.Sc.) Remote Sensing दुवै सर्टिफिकेट ग्लोबल युनिभर्सिटी नागाल्याण्ड भारतबाट ल्याइएका हुन् ।
Bachelor of Science (B.Sc.) (Hons.) in Environmental Science राजपत्रांकित नापी अधिकृत पदका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता होइन तर पनि पाण्डेलाई बढुवा गरियो । नापी कार्यालय मनमैजुपछि विदेश पढ्न गएका अध्ययन बिदामा रहेका प्रमुख नापी अधिकृत सुमिर कोइरालाको दरवन्दी राखी विगत तीन बर्षदेखि नापी कार्यालय रुपन्देहीमा निमित्त कार्यालय प्रमुख चलाइरहेका छन् । त्यहाँ कसैलाई जान दिंदैनन् । ‘क’ वर्गको नापी कार्यालय रुपन्देहीमा जो कोही प्रमुख नापी अधिकृत(उपसचिव) जान चाहन्छन् तर सुग्रिव यादवले कसैलाई पर्न दिंदैनन् ।
भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा जो जो मन्त्री, सचिव आउछन्, नापी विभागमा जो जो महानिर्देशक आउँछन्, ती सबैमा उनले सम्मोहन कला प्रयोग गर्दछन्न् । सबैलाई आफ्नो बसमा पार्छन् र आफू अनुकुलको निर्णय गराउँछन् । महानिर्देशक तोयनाथ बराल, राजाराम छतकुली, मधुसुदन अधिकारी, गणेशप्रसाद भट्टदेखि हालका महानिर्देशक प्रकाश जोशी, सचिव र मन्त्रीसम्म यादवका बसमा परे । यी सबै गरुडका अगाडि सर्प जस्तै बनेका छन् ।
महानिर्देशक कृष्णराज बीसी हुँदा सुरुमा केही फरक देखिए पनि अन्ततः यादवको बसमा परिछाडे । यसरी सबैलाई सम्मोहित गर्नसक्ने क्षमता भएका यादवले परासी, रुपन्देही र कपिलबस्तुमा रहँदा विभिन्न गैरकानूनी कार्य गरी सरकारी सार्वजनिक जग्गाको कत्लेआम गरेका दर्जनौं उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका थिए । ती सबै उजुरीहरु तामेली गराउन सफल भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हालसम्म रहेका सर्भे समूहका सबै नापी अधिकृत र प्रमुख नापी अधिकृतहरुलाई आफ्नो सम्मोहन कला प्रयोग गर्दैैआएका छन् । हाल अनुसन्धानमा रहेको सम्पत्ति छानविन समेत सम्मोहन कलाबाटै तामेलीको संघारमा र्पुयाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयका एक उपसचिवलाई प्रभावमा पारी उनले उजुरी तामेलीमा हाल्न सफल भएका छन् ।
नापी अधिकृत यादव रुपन्देहीबाट काठमाडौं आउँदा हरेक पटक पूर्व महानिर्देशकहरुको घरमा श्रीमतीसहित माछा, मासु, भेटी लिएर उपस्थित हुन्छन् । जसलाई जे चाहियो त्यही पुु¥याइदिन्छन् । यसपटक कैलाशनाथ पाण्डेको जस्तै पढ्दै नपढी ल्याएको प्रमाणपत्रबाट सुग्रिव यादव बढुवा हुन लागिपरेका छन् । यादवले पेश गरेको ग्लोवल ओपन युनिभर्सिटी नागाल्याण्ड भारतको स्नातक र स्नातकोत्तर दुबै तहको सर्टिफिकेटलाई त्रिभुवन विश्वविद्यालयले मान्यता तथा समकक्षता दिएको छैन ।
यस विषयमा त्रिभुवन विश्वविद्यालयले कार्यविधि नै बनाएको छ । यादवले दुई दुई पटक बैठक बसायर त्रिभुवन विश्वविद्यालयबाट मान्यता तथा समकक्षता लिने प्रयास गरे कुनै एक पदाधिकारीले विरोध गरेका कारण निर्णय हुन सकेन । मान्यता तथा समकक्षता नभए पनि, योग्यता नमिले पनि अन्ततः आफ्नो सम्मोहन कलाबाट बढुवा हुन उनले लोकसेवा आयोगका पदाधिकारीदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव र सचिवलाई समेत खुसी पार्न साम, दाम सबै प्रयोग गरी लागेका छन् ।