Logo
Logo

राप्रपामा लिङ्देन र धवलशमशेरबीच वाकयुद्ध

लिङ्देन र एकनाथ ढकालीबीच गोप्य भेट


2k
Shares

काठमाडौं । शुक्रबारदेखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठकमा निर्वाचित महामन्त्री धवलसमशेर राणाले कार्यपत्र पेश गरेपछि अध्यक्ष राजेन्द्र लिङ्देन पक्ष उनीबिरुद्ध खनिएको छ । कार्यपत्र पेश गर्नासाथ अध्यक्ष लिङ्देन पक्ष महामन्त्री राणाबिरुद्ध अराजक र ब्यक्तिगत लान्छनामा उत्रिएको छ । भर्खरै क्यान्सरजस्तो प्राणघातक रोगसँग लडेर उपचारपछि पार्टी काममा फर्किएका राणाबिरुद्ध लिङ्देनले नन्दीभृंगीहरुलाई उचालेर अनेक लान्छना लगाइरहेका छन् ।

लिङ्देनले अब बन्ने शेरबहादुर देउवा नेतृत्वको सरकारमा परराष्ट्र मन्त्री बनाइदिने आश्वासन दिएकाले पशुपतिशमशेर राणा समेत धवलका बिरुद्ध भित्रभित्रै लागेका छन् । पशुपतिका निकट कार्यसम्पादन समिति सदस्य ठाकुरप्रसाद शर्मा धवलका बिरुद्ध अमर्यादित रुपमा प्रस्तुत भएका छन् । उनलाई पशुपतिले नै धवलका बिरुद्ध बोल्न लगाएको अर्थमा राप्रपामा लिइएको छ ।

राप्रपाको गएको महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाहले धवलशमशेरलाई अध्यक्षमा उठ्नू भन्दा उनले लिङ्देनलाई उठाएर जिताउने भन्दै त्याग गरेका थिए । ज्ञानेन्द्रले लिङ्देनको भर पर्न नसकिने भन्दै उनलाई नेतृत्व लिन भनेका थिए । तर उनले लिङ्देनको विश्वास गर्नुपर्छ भनेर ज्ञानेन्द्रलाई आश्वस्त तुल्याएका थिए ।

त्यसरी अध्यक्ष बनाउने धवलका बिरुद्ध लिङ्देनले अहिले आफ्ना निकट भनिएका केही युवाहरुलाई समेत गालीगलौजमा उतारेका छन् । लिङ्देनले धनबहादुर बुढा, बीरेन्द्र बम, आनन्द अधिकारी, प्रकाश रिमाल, झनक प्याकुरेल लगायतलाई धवलका बिरुद्ध तल्लोस्तरको गालीगलौजमा मैदानमा उतारेका छन् । झनक प्याकुरेल सरकारी जग्गा दर्ता गर्नेदेखि दर्ता हुन नसकेका विवादित जग्गा मिलाउने भन्दै मालपोतमा सेटिङ गर्ने बिचौलियाका रुपमा चिनिन्छन् ।

स्थानीय चुनावमा राप्रपाको शर्मनाक हार भएपछि राजावादी शक्ति मिल्ने प्रस्ताव राप्रपा नेपालका अध्यक्ष कमल थापाले राख्दा पनि लिङ्देनले उल्टै घमण्ड प्रदर्शन गर्दै एकता नगर्ने घोषणा गरेका छन् । अब बन्ने देउवा नेतृत्वको सरकारमा सहभागी हुने कुरामा कमल थापा बाधक बन्ने देखेर एकताको बिरोधमा लिङ्देन उत्रिएको राप्रपाभित्रै चर्चा हुनथालेको छ ।

यसैबीच, नेपालमा क्रिश्चियन धर्म प्रचारको माध्यमबाट परिवारदल खोलेर ०६४ को निर्वाचनमा समानुपातिक सांसद भएका एकनाथ ढकालसँग राप्रपा अध्यक्ष लिङ्देनले एक महिनाअघि गोप्यरुपमा भेटेको बिषय राप्रपाभित्रै भूसको आगोजस्तो फैलिएको छ ।

क्रिश्चियन धर्म प्रचारमा लागेकी धादिङकी बिना तामाङलाई सांसद बनाएका लिङ्देनले क्रिश्चियन धर्म प्रचारक एकनाथ ढकाललाई भेट्नुले उनको हिन्दू राज्य स्थापनाको अभियानमै प्रश्न उठेको छ । बाहिर बाहिर हिन्दू राज्यको नारा लगाउने र भित्रभित्रै क्रिश्चियन धर्मका प्रचारकहरुसँग गोप्य साँठगाँठ गरेको भन्दै राप्रपामा उनको आलोचना भइरहेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ढकालले होलीवाइन खुवाएर क्रिश्चियन धर्मको प्रचार गरेको भन्दै राप्रपाले बिरोध गर्दैआएको छ । तर तिनै ढकालसँग गोरखा नै घर भएका मोहन श्रेष्ठमार्फत् भेटेको बिषयले लिङ्देनको बोली र ब्यवहारमा आकाश जमिनको फरक देखिएको भन्न थालिएको छ । ढकाल र श्रेष्ठ दुबैको घर गोर्खामा एकै ठाउँमा हो ।

बिना तामाङलाई सांसद बनाउँदा ठूलो रकम लिएको आरोप लिङ्देनमाथि लागेको थियो । राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले बिनालाई सांसद बनाएकोमा बिरोध गरेका थिए । तर पछिल्ला दिनमा देउवाको सरकार बनेपछि मन्त्री बनाउने आश्वासन पाएकाले बुद्धिमान लिङ्देनको अन्ध समर्थक बनेका छन् । धवलबिरुद्ध परिचालितहरुलाई लिङ्देनले एकनाथ मार्फत् कोरियादेखि अमेरिका पठाइदिने आश्वासन समेत दिएको राप्रपा बृत्तमा चर्चा चलेको छ ।

यसैगरी, लिङदेनले गएको चुनावमा समानुपातिक सांसद बनाउन पशुपतिशमशेर राणादेखि बुद्धिमान तामाङ, बिना तामाङ जस्ता संघका र भुवन पाठक लगायतका प्रदेशका हरेकसँग दररेट तय गरी करोडौं उठाएको बिषयमा पनि खोजीनीति हुनुपर्ने धवलसमशेर पक्ष छ ।

प्रतिक्रिया दिनुहोस्