Logo
Logo

प्रहरीको सरुवा–बढुवामा गृहको हस्तक्षेप


19k
Shares

काठमाडौं । प्रहरीको सरुवा बढुवामा गृहमन्त्री र उनको सचिवालयले निकै चासो दिएको छ । नेपाल प्रहरीमा शुक्रबार बेलुका ३७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस हुँदा त्यसमा उनको सचिवालयले चासो दिएको हो ।

खासगरी गृहमन्त्रीको सचिवलायमा रहेका जनक भट्टलगायतको समूहले प्रहरीको सरुवा बढुवामा चलखेल गरेका हुन् । एसएसपी बढुवा, एसपी बढुवा तथा एसएसपी सरुवा र पदास्थपनमा समेत उनको सचिवालयले चासो दिएको थियो ।

गृहसचिव गोकर्ण दुवाडी र आइजीपी बसन्त कुँवर मन्त्रीको सचिवालय अगाडि निरिह भएका छन् । मन्त्री र उनको सचिवालयले जे निर्णय गरेर आउ भन्यो त्यही गर्न बाध्य रहेका छन् । सशस्त्र प्रहरीमा पनि यस्तै भएको छ ।

नेपाल प्रहरीको एसएसपी बढुवादेखि सरुवा र पदास्थापनमा समेत गृहमन्त्रीको सचिवालयको प्रभाव रहेको छ । उता सशस्त्रको ९० जना एसपी सरुवा पनि आइजी आफैले निर्णय गर्न नपाएको गुनासो हल्चोकतिर सुनिएको छ । नेपाल प्रहरीको एसपी बढुवामा २०६१ सालमा दुई पटकमा र २०६२ सालमा भर्ना भएको टोलीबाट एसपीमा बढुवाका लागि सिफारिस भएका छन् ।

उनीहरू डिएसपीमा बढुवा हुँदा पनि दुई पटकमै भएका थिए । २०६१ सालमा भर्ना भएका १७ जना र २०६२ सालमा भर्ना भएका २० जना एसपी बढुवाको सिफारिसमा परेका छन् । तर २०६२ सालमा भर्ना भएका टोलीका १० जना २०७२ सालमै डिएसपीमा बढुवा भएका थिए । उनीहरूको टोलीका १० जना एसपीमा सिफारिस भएका छन् ।

२०७२ सालमा डिएसपीमा बढुवा भएका ७ जनालाई छुटाएर २०७४ मा डिएसपी भएका १० जनालाई बढुवा गरिएको छ । यसले गर्दा संगठनमा ठुलो असन्तुष्टि पैदा भएको छ । यसअघि पनि ३९ नम्बर र ३४ नम्बरलाई अगाडि ल्याउन अगाडि भएकालाई बढुवामा छुटाइएपछि प्रहरी संगठनमा असन्तुष्टि उत्पन्न भएको थियो । यसले गर्दा संगठनमा मनोबल खस्केको र विवादितहरूले मात्रै अवसर पाएको भन्दै असन्तुष्टि बढेको हो ।

२०६१ सालमा भर्ना भएर २०७२ सालमै डिएसपी भइसकेका रविन कार्की, अनिलकुमार खड्का, महेन्द्र नेपाल, वीरेन्द्र थापा र ज्ञानेन्द्रबहादुर बस्नेत बढुवामा छुटेका छन् । यस्तै उनीहरूभन्दा १८ दिनपछि भर्ना भएका र सँगै डीएसपी भएका दीपेन्द्र पञ्जियार थारु र महेश थापालाई पनि बढुवामा छुटाइएको छ । तर उनीहरूभन्दा १६ महिना जुनियर १० जना डीएसपीहरू एसपीमा बढुवाका लागि सिफारिस भएका छन्। २०६२ सालमा भर्ना भएर २०७४ सालमा डीएसपी भएका मुकुन्द रिजाल, नवीन कार्की, नरेन्द्र कुँवर, नारायणप्रसाद अधिकारी, भेषराज रिजाल, निर्मल बुढाथोकी, नवराज मल्ल, डिल्लीनारायण पाण्डेय, लालध्वज सुवेदी र रुगम कुँवर एसपीमा बढुवा सिफारिस भएका छन् । यसअघि डीएसपी बढुवामा आफूहरूलाई अन्याय भएको उनीहरूको गुनासो थियो ।

२०६१ जेठमा भर्ना भएका मध्येबाट सुमित खड्का, ठाकुरप्रसाद पोखरेल, दीपक गिरी, नविनकृष्ण भण्डारी, तिलक भारती, सूर्यबहादुर खड्का, दीपक श्रेष्ठ, प्रेमबहादुर शाही र किशोरकुमार श्रेष्ठ एसपीमा बढुवाका लागि सिफारिस भएका छन् । यस्तै उनीहरूकै वैकल्पिक टोली २०६१ असारमा भर्ना भएका कुलदीप चन्द पहिलो नम्बरमा बढुवा सिफारिस भएका छन् ।

यही टोलीका मनोहरप्रसाद भट्ट, केशवकुमार थेबे, टेकबहादुर कार्की, फणिन्द्र प्रसाईँ, शरदकुमार थापा, युवराज खड्का र राजन चापागाईँ पनि एसपीमा बढुवा सिफारिस भएका छन् । २०६२ भदौमा भर्ना भएर २०७२ चैतमा एसपी भएको टोलीका १० जना नै एसपीमा सिफारिस भएका छन्। यो टोलीबाट पवनकुमार भट्टराई, रवीन्द्रनाथ पौडेल, दानबहादुर थापा, सुदीपराज पाठक, निशान थापा, कवित कटवाल, रामेश्वर पौडेल, रुकेश तण्डुकार, दधिराम न्यौपाने र श्यामकुमार सारू मगर यसपटक पनि बाजि मार्न सफल भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्