काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले सरकारलाई प्रभावकारी ढङ्गले अघि बढाउन सुझाव दिएका छन् ।
संसद् भवन नयाँ बानेश्वरमा सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमा धारणा राख्दै सांसदहरूले एमालेसँग भएको सहमतिअनुसार सरकारलाई प्रभावकारी ढङ्गले अघि बढाउन सुझाव दिएका हुन् ।
बैठकमा सांसदहरूले अध्यादेश, संसद्का कामकारबाही, समसामयिक रूपमा गम्भीरतापूर्वक धारणा राखेको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । सांसदहरूले बोल्ने क्रम जारी रहेको र माघ १८ गते बस्ने बैठकमा बाँकी सांसदहरूले धारणा राखेर जवाफ दिएपछि बैठक सकिने उनले बताए ।
घिमिरेले सरकार परिवर्तनको कुरा कसैले नगरेको र सरकार ढल्ने कुरामा कुनै सत्यता नरहेको उल्लेख गरे । सात बुँदे सम्झौतालाई कार्यान्वयन गरेर सरकार पूरा अवधि चल्ने उनको भनाइ छ ।
घिमिरेले सहकारी पीडितहरूको पैसा राज्यले परिपूरण गर्न नसक्ने बताए । सहकारीको रकम अपचलन गर्नेहरूबाटै पीडितलाई परिपूरण दिने गरी सरकारले अध्यादेश ल्याएको पनि उनले प्रस्ट पारे ।
उनले भने, ‘सहकारीमा पैसा डुबेका व्यक्तिहरूको पैसा राज्यले परिपूरण गर्न गाह्रो छ । राज्यकोषमा त्यति सम्पत्ति छैन । तर, जसले मास्यो, जसले खायो, जसले अपचलन गर्यो त्यसैबाट भराएर लिने भन्ने कुरा हो । त्यसैका लागि सहकारी ऐनमा संशोधन हुने गरी अध्यादेश आएको छ ।’