पर्सा । वीरगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बारा र पर्सा जिल्लाबाट दुई हजार दुई सय ७२ क्वीन्टल सोनामन्सुली धान खरिद गरेको छ । कम्पनीले गत मङ्सिर २० गतेदेखि धान खरिद सुरु गरेको हो ।
कम्पनीले यो हिउँदमा ३२ हजार क्वीन्टल सोनामन्सुली र १० हजार क्वीन्टल जिरामसिनो धान खरिद गर्ने योजना बनाएको छ । हालसम्ममा जिरामसिनो धान भने कृषकले बिक्रीका लागि ल्याएका छैनन् । कम्पनीका सूचना अधिकारी समीर दाहालले अपेक्षाकृत रुपमा किसानहरु धान बिक्री गर्न नआएको बताए । ‘किसानले अपेक्षा गरेभन्दा कम धान बिक्रीमा ल्याउनुभएको छ’, उनले भने, ‘उहाँहरुले फाट्टाफुट दुई–तीन दिनमा एक गाडी धान लिएर आइरहनुभएको छ ।’
कार्यालयले दैनिक चार बजेभित्र कृषकले ल्याएको धान तौलिन भ्याएमा सोही दिनभित्रै भुक्तानी गर्दै आइरहेको जनाएको छ । विगतका दुई वर्ष बजार मूल्यभन्दा सरकारले तोकेको समर्थन मू्ल्य कम भएपछि किसानले कम्पनीलाई धान बेचेका थिएनन् । सरकारले यो वर्ष सोनामन्सुली धानप्रति क्वीन्टल रु तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा समर्थन मूल्य तोकेको छ । त्यसैगरी जिरामसिनोको समर्थन मूल्य प्रतिक्वीन्टल रु चार हजार तोकेको छ ।
यसैबीच, गत आवमा धान, चामल आयात घटेको छ । अघिल्ला आर्थिक वर्षहरुको तुलनामा गत आवमा वीरगञ्ज भन्सार हुँदै आयात हुने चामल आयातमा उच्च गिरावट आएको छ । भारत सरकारले धान, चामल निर्यातमा कोटा प्रणाली हटाएर थप २० प्रतिशत कर लाग्ने व्यवस्था गरेसँगै सो को प्रभाव नेपालमा देखिएको हो ।
कार्यालयका अनुसार गत आव २०८०/८१ मा रु आठ अर्ब २८ करोड ५५ लाख ४२ हजार मूल्य बराबरको २० करोड ८० लाख ९२ हजार चार सय ४८ किलो धान आयात भएको थियो । आव २०७९/८० को तुलनामा गत आवमा धान आयातको परिमाण ४४ दशमलव ६० प्रतिशतले घटेको हो ।
आव २०७९/८० मा १३ अर्ब ७६ करोडको धान आयात गरिएको थियो । सो आवमा ३८ करोड ५५ लाख ८८ हजार तीन सय ३९ किलो धान आयात गरिएको थियो ।
गत आव २०८०/८१ मा वीरगन्ज भन्सार हुँदै रु एक अर्ब ७२ करोड ६२ लाख ५३ हजार मूल्यबराबरको एक करोड ३२ लाख ४१ हजार तीन सय ७३ किलो चामल आयात भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा आयात भएको चामलको परिमाण ६३ दशमलव ८० प्रतिशतले कमी हो ।
आव २०७९/८० मा भने रु दुई अर्ब ९५ करोड ९९ लाख ४४ हजार मूल्य पर्ने तीन करोड ६५ लाख ८२ हजार छ सय ८३ किलो चामल आयात भएको थियो ।