मोरङ । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेश तथा स्थानीय तहबीच समन्वय तथा विवाद समाधान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।
आज बसेको बैठकले स्थानीय तह र प्रदेश सरकारबीच हुने विभिन्न विवाद समाधान गर्ने उद्देश्यले कानुन आवश्यक भएकाले विधेयक निर्माणका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।
बैठकले विद्यालय नर्सिङ सेवा कार्यक्रम सञ्चालन कार्यविधि, २०८१ स्वीकृत गर्नाका साथै यही माघ २८ देखि फागुन ९ गतेसम्म भारतमा सञ्चालन हुने तालिममा जान मुख्य न्यायाधिवक्ता नारायण वस्तीलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।