म हरेक साता एउटा स्तम्भ लेख्छु– बिलोम । बिलोमको सोझो अर्थ हुन्छ विपरीत अर्थात् उल्टो क्रम । यसको ठ्याक्कै अर्थ मेरो स्तम्भले बोक्दैन । मैले यसलाई फरक मतको अर्थमा बुझ्ने र अथ्र्याउने गरेको छु । यता, अमेरिकाको लिगेसी मिडियामा यसलाई सेकेण्ड ओपनियन भन्ने गरिन्छ । यद्यपि, यसको साख्य अर्थ बिलोम भन्दा अलि फरक छ ।
बिलोम दृष्टिको अग्र–आलेख हो । यसको अर्थ यो दृष्टिको मियो लेख हो । दृष्टिको आफ्नै इतिहास, पहिचान र खेमा छ । यसका आफ्नै पाठक छन् । तिनका अपेक्षा पनि त्यही खालका छन् । मेरा पनि केही हजारको संख्यामा आफ्नै खास्सा पाठक छन् । उनीहरू मलाई वर्षौदेखि पढिरहेका छन् । खासमा म तिनै पाठकहरूका लागि लेख्ने गर्छु ।
हरेक साता स्तम्भ लेख्न सजिलो छैन । त्यसमा पनि दृष्टि मूलतः राजनीतिक पत्रिका भएकाले यसको मूल लेख राजनीतिसँगै सम्बन्धित होस् भन्ने अपेक्षा हुन्छ । तर, नेपालको राजनीतिमा हरेक हप्ता लेख्न सकिने किसिमले गुणात्मक रूपमा चलायमान हुँदैन । स्तम्भले सामान्यतः स्थान र समयले बनाउने सन्दर्भ माग्छ । धेरैजसो सन्दर्भको पृष्ठभूमी नै हुँदैन । धन्न, के पी ओली र रवि लामिछाने छन्, केही न केही गरिरहन्छन्–बोलिरहन्छन् र लेख्नलाई विषय हुन्छ । सबै देउवाजस्तै नबोल्ने हुने हो भने विषयको चैत नै लाग्छ ।
म खुट्टा अमेरिकामा र टाउको नेपालमा भएको एक अजीव प्राणी हुँ । अमेरिकामा मेरो आफ्नै काम र ती कामले दिने सीमा र बाध्यताहरू छन् । म निरन्तर अमेरिकी स्वार्थको रक्षा गर्नुपर्ने र कतिपय गोपनीयता र सुरक्षासँग सम्बन्धित विषयहरूसँग जोडिएर काम गर्दै आएको छु ।
मन, वचन र कर्मले अमेरिकी भए पनि म एक हाइफनवाला अमेरिकी हुँ । अर्थात् नेपाली–अमेरिकी । त्यसैले मेरो लागि नेपाली र अमेरिकीमध्ये एउटा रोज्ने विषय नै रहेन । मेरो राष्ट्रियता र परिचयका लागि नै दुवै अनिवार्य हुन् । अमेरिकाले एउटा छान्नैपर्ने बाध्यता दिदैन, दुबैलाए जोड्ने अवसर दिन्छ । अमेरिकी सुन्दरता भनेकै यही हो ।
अमेरिकाका यस्तो परिस्थितिमा रहेको म एक्लो नेपाली–अमेरिकी हैन । मजस्ता अरू पनि धेरै नेपाली–अमेरिकी छन् । यद्यपि, न सबैको अवस्था र परिस्थित एउटै छ, न दिशा र दशा । हामीसँग केही साझा कुराहरू भने जरुर छन् । जस्तोः कि नेपालमा सुशासन होस् । मूल्य र मान्यताको राजनीतिक होस् । सामाजिक न्याय स्थापित होस् । यसो गर्दा अन्ततः निस्कने सुखद परिणाम भनेको समृद्ध नेपाल र सुखी नेपाली नै हो । मात्रै त्यही होस् भन्ने निर्दोष चाहना हो ।
अहिले म अमेरिकाको स्वास्थ्य तथा मानव सेवा मन्त्रालयसँग सम्बन्धित छु । त्यही जिम्मेवारी निर्वाह गर्ने क्रममा यतिबेला म एटलान्टिक महासागरको किनारमा रहेको फ्लोरिडा राज्यको वेस्ट पाम बिच आइपुगेको छु । हिउँदको बेला समर हुने यो बेला यहाँ आउनु आफैँमा एक सुखद भ्याकेसन हो । म त्यही भ्याकेसनमा छु भने पनि हुन्छ । अझ, त्यसमाथि पनि प्रतिष्ठित संघीय नियुक्ति, फाइब स्टार होटलको बास र खाना, सुविधा सम्पन्न गाडीलगायका सरकरारी सुविधाहरू । कतै भाग्य हुन्छ भने, यो सबै भाग्यकै खेल त होला ।
म जुन होटलमा छु, त्यहाँबाट ५ माइलमा छ मार–ए–लागो । अमेरिकी राष्ट्रपति ट्रम्पको आलिसान महल हो यो । एटलान्टिक महासागर दुईतिर बाँडिएर बनेको सानो टापूमा रहेको यो आफैँमा एक ऐतिहासिक महल हो ।
ब्रिटिस मूलकी अमेरिकी धनाढ्य व्यापारी मार्जोरीले वर्षौँ लगाएर बनाएको यो महल अमेरिकी राष्ट्रपतिलाई हिउँदे ह्वाइट हाउसका रूपमा उपहार दिएकी थिइन् । तर, १९८५ मा रेगन राष्ट्रपति भएको बेला एउटा जटिल सरकारी बोलकबोल प्रथाबाट यसलाई ट्रम्पले कौडीको भाउमा लिए । त्यतिबेला मात्र एक करोड डलरमा किनेको यसको मूल्य अहिले ४० करोडभन्दा माथि छ ।
अहिले म त्यही अमेरिकाको राष्ट्रिय ऐतिहासिक धरोहर मार–ए–लागो नजिकैको होटलको बाल्कोनीमा छु । यस्तो अजव–गजबको संयोग जुरेको बेला बिलोम पनि उनै ट्रम्पमाथि नै लेखौं जस्तो लाग्छ । गत साता मात्रा अमेरिकाको ४७औँ राष्ट्रपतिको ओपमा सपथ लिएका उनको पहिलो हप्ताको काम र त्यसको असर यसै पनि चर्चाको शिखरमा छ । त्यसको प्रभाव नेपाल र यता–उता दुबैतिरका नेपालीलाई पनि परेकै छ । अहिलेको मेरो कामसँग यो लेखको अप्रत्यक्ष सम्बन्ध पनि छ । तर, त्यो के हो?, त्यसबारेमा भने अहिले नै म केही भन्न सक्दिन ।
आमचुनावले यो वर्षदेखि ‘अमेरिका पहिला’ र ‘अमेरिका महान्’ बनाउने जनादेश दियो । अबको चार वर्ष अमेरिका यही बाटोमा हुनेछ । ड्राइभिङ सिटमा ट्रम्प छन् । ‘मेक अमेरिका ग्रेट अगेन’ लेखेको रातो ह्याट लगाएका ट्रम्पले स्टेयरिङ समातेको एक साता बितेको छ । उनी रफ्तारमा गियर दबाइरहेका छन् । कसैलाई यो रिभर्स गियर लागेको छ, कसैलाई फोर्थ गियर । जे भए पनि गियर लागेको दुबैतिर थाहा छ, गाडी रफ्तारमा छ । यसको अनुभव अमेरिकामा मात्र हैन, बाँकी विश्वमा पनि मज्जैले भएको छ ।
अबको चार वर्ष अमेरिकाको साँचो नै ट्रम्पको हातमा हुनेछ । उनको आफ्नै फरक खाले गन्तव्य छ । त्यो गन्तव्यका बारेमा उनले चुनावका बेला नै प्रस्टसँग भनेका थिए । भन्दाभन्दै पनि बहुमत अमेरिकी जनताले उनैलाई सबैखाले प्रचण्ड बहुमत दिए । यसको मतलव अमेरिकी जनता उनको गन्तव्यमा पुग्न मञ्जुर भए ।
ट्रम्पको हातमा स्टेयरिङ परेको अनुभूति नेपाल र नेपालीलाई पनि भएकै छ । अबको ९० दिनका लागि अमेरिकी सहयोग नै बन्द गरिदिए ट्रम्पले । अब ठूलो विकासे बाजा बजाइएको एमसीसीको भविष्य के होला ? युएसएडमार्फत् सञ्चालित योजना र प्रायोजित गैसस अनि तिनका विकासे नेता–कार्यकर्ताको दानापानी कसरी जुट्ला ? यी र यस्तै अरू पनि प्रश्नले टाउको उठाएका छन् । हेक्का राख्नुपर्ने कुरा के हो भने नेपालको कोणबाट हेर्दा अमेरिका नेपाललाई सहयोग गर्ने पहिलो रोल नम्बरको देश हो भने अमेरिकाको कोणबाट हेर्दा नेपाल सहयोग पाउने १६औँ रोल नम्बरको देश हो ।
ट्रम्पले भनेकै छन्, ‘अमेरिका प्रथम’ । यसको अर्थ हो, अब उसको दायित्व अमेरिका र अमेरिकी जनताप्रति मात्रै हुन्छ, बाँकी विश्वका प्रति उनको दायित्व छैन । उनले अमेरिकी सहयोग रोक्का गर्ने कार्यकारी आदेश जारी गर्दा भनेकै छन्, ‘अबको ८५ दिनभित्र सबै खाले अमेरिकी सहयोगको समीक्षा गरिनेछ । त्यसबाट अमेरिका र अमेरिकी जनतालाई फाइदा हुन्छ भने सहयोगबारे पुनर्विचार गरिने छ ।’
त्यो पुनर्विचारमा नेपाल पर्छ कि पर्दैन अहिले नै यसै भन्न सकिँदैन । ट्रम्प सोझै सी फिङ र मोदीसँग कुरा गर्न तम्सिएको बेला उनको महत्वको शव्दकोशमा नेपाल रहने सम्भावना कमै छ । यस्तो स्थितिमा अब नेपालमा चलेको ‘भूराजनीतिक अवस्थितिको’ आयाम पनि खुम्चिएर दुई ढुंगा बिचको तरूलमा सीमित हुने सम्भावना बढ्छ । परिणामतः नेपालमा भन्दै आइएको भौगोलिक छिमेकी भारत र चीन अनि भर्चुअल छिमेकी अमेरिका भनिने भाष्य पनि असान्दर्भिक हुने छ ।
अमेरिकी सहयोगको नेपालमा ठूलो अर्थ, महत्त्व र प्रभाव छ । त्यसको प्रत्यक्ष लाभ कुनै न कुनै रूपमा सबै नेपालीले पाएकै छन् । त्यसमा पनि मानव अधिकार, समानता, सुशासन, महिला सशक्तीकरण जस्ता विषयमा अमेरिकाको आवाज मात्रै हैन, योगदान पनि ठूलै छ ।
अमेरिकाका लागि ज्यादै महत्त्वपूर्ण रहेका चीन र भारतको बीचमा रहेको नेपाललाई भूराजनीतिक अवस्थितिका कारण पनि अमेरिकाले देख्नुपर्ने स्थिति थियो । त्यसको प्रत्यक्ष लाभ नेपाललाई प्राप्त थियो । तर, अब त्यो सबै ‘अमेरिका पहिलो’को ‘ट्रम्प–ग्रहण’मा पर्नेछ । चारवर्षे यो लामो ग्रहणमा नेपालको दिशा र दशा के हुन्छ? अहिले नै यसै भन्न सकिने स्थिति छैन ।
नेपालीलाई परेको प्रभावको कुरा गर्ने हो यसका एक हैन, अनेक आयामहरू छन् । पहिलो त ट्रम्पले ह्वाइट हाउस पसेकै दिन दक्षिणी सिमामा संकटकाल लगाइदिएर तल्लो बाटो नै बन्द गरिदिए । यसको अर्थ हो, नेपालीको लागि पनि तल्लो बाटो बन्द हुनु । यसको सकारात्मक र नकारात्मक दुवै पाटा छन् ।
सकारात्मक पाटोको कुरा गर्दा, अब नेपालबाट अमेरिकामा मानव तस्करी हुँदैन । अमेरिकी सपनाका नाममा तल्लो बाटो आएर सिमाबाटै फर्कनुपर्ने, जेल–नेल भोग्नुपर्ने र अमेरिका छिरिहालियो भने पनि त्यसपछि कागजपत्र बनाउन छिचोल्नुपर्ने सारा समस्याहरू थान्को लागेका छन् ।
अब त्यस्ता कसैले पनि चर्को ब्याजको लाखौं ऋणको भारी बोक्नु पर्ने छैन । नकारात्मक पाटोको कुरा गर्दा, अमेरिका आएर कागजपत्र बनाउन सक्ने र उनीहरूका परिवारको ढिलै भए पनि अमेरिकी सपना पूरा भइरहेकै थियो । त्यसबाट अब उनीहरू वञ्चित हुन्छन् ।
बाहिरबाट झट्ट हेर्दा यसबाट नेपालीले अवसर गुमाए जस्तो देखिन्छ । तर, भित्रबाट सारमा हेर्ने हो भने चित्र त्यस्तो मात्र छैन । यसका कहालीलाग्दो पाटाहरू छन् जुन भोग्नेलाई मात्र थाहा हुन्छ । विडम्बना कोही पनि भुक्तभोगीहरू त्यो बताउन चाहँदैनन् । बताए पनि पत्याउने नेपाली चलन छैन । उल्टै ‘आफू गइहाल्यो, अरूलाई बाटो छेक्न नानाथरि भन्छ’ भन्ने गरिन्छ । जे होस्, यो कहालीलाग्दो तल्लो बाटो तत्कालका लागि बन्द भएको छ । यही बेला नेपाली मिडियाले यो सही सूचना र सन्देश प्रवाह गरेर अरू सम्भावित ठगिनेहरूलाई जोगाउनु पर्छ । अझै पनि अमेरिका छिराउन सकिन्छ भनेर मानव तस्करहरूले नेपालीलाई फसाउने प्रयास जारी राख्न सक्छन् ।
नेपालीमा सन्त्रास
नेपालका नेपालीलाई त अब आउनै समस्या हुने भयो, यता आइसकेकाहरू पनि समस्यामै छन् । अमेरिकी नागरिक भइसकेकालाई राहत भए पनि विभिन्न कागजी स्टाटसमा रहेका बाँकिको नेपाल फर्कने उल्टो दिनगन्ती सुरु भैसकेको छ ।
ट्रम्पले सार्वजनिक गरेको योजनाअनुसार फर्काइने नेपालीको पहिलो लटमा करिब एकहजार पाँच सय लुकेर बसेकाहरू पर्छन् । उनीहरू कुनै पनि बेला समातिएर नेपाल पठाइन सकिन्छन् । दोस्रो लटमा अहिले विभिन्न डिटेन्सन सेन्टरमा रहेर आप्रवासनसम्बन्धी मुद्दा अगाडि बढाइरहेका पर्छन् । यस्ता नेपालीको संख्या चार सयको हाराहारीमा रहेको अनुमान छ ।
तेस्रो लटमा आगामी जुन ३० मा टीपीएस सकिने पर्छन् । यस्तो संख्या अब करिव पाँच हजार बाँकी होला । त्यसपछिको लटमा ग्रीन कार्डको म्याद सकिनेहरू, विद्यार्थी भिसा थप्न समस्यामा पर्नेहरू पर्छन् । कुरा त्यतिमा मात्र सीमित छैन, अंगिकृत नागरिक बन्दाको फाइल पनि हेर्न सकिने भनिएको छ । यदि त्यसो गरियो भने नक्कली कागजात भेटिनेलाई ‘डिन्याचुराइलाइजेसन’ प्रक्रियामा लगेर पठाइने भनिएको छ । यसो गर्दा नक्कली कागजात जुटाएका धेरै एक्स्ट्रा अर्डिनरी र एसाइलीहरूको रुवाबासी नै हुन्छ ।
ट्रम्प २.० सुरू भएयता अमेरिकामा लुकेका नेपालीहरू नेपाल फर्काइने क्रम पनि सुरु भैसकेको छ । तीनजना नेपालीलाई त हवाइजहाजमा उडाएर काठमाडौंमै ओराली सकियो । धेरै त्यस्ता नेपालीहरू काममै जान छोडिसके । उनीहरू यताको हिसाब–किताब मिलाउने, झिटीगुन्टा कस्ने, क्रेडिट कार्डहरूबाट निकाल्न सकिने जति पैसा निकाल्ने, ढुकुटीलगायतको पैसा व्यवस्थापन गर्नेलगायतका काममा जुटेका छन् ।
गीतामा भनिएको छ– जे हुन्छ, सबै राम्रैका लागि हुन्छ । यस कोणबाट हेर्दा अहिले अमेरिकामा ट्रम्पले जित्नु पनि राम्रै हो । अमेरिका पहिलो र महान् बनाउन उनले चालेको कदम पनि राम्रै हो । त्यसबाट नेपाललाई सहयोग रोकिनु र तल्लो बाटो बन्द हुनु पनि राम्रै हो । लुकेर वा अन्य किसिमले अमेरिकामा बस्ने नेपालीहरू अब देखिएरै आफ्नै देश नेपालमा बस्न पाउने भए, त्यो त झन सुनमाथि सुगन्ध नै हो, हैन र ?