काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नेपालका लागि हानिकारक हुने बताएका छन् ।
![](https://www.drishtinews.com/wp-content/uploads/2025/01/madhav-nepall-768x320.jpg)
मंगलबार काठमाडौँमा समाजवादी मोर्चाले गरेको विचार सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रत्यक्ष निर्वाचित प्रणालीमा जानुअघि धेरै बहसको आवश्यकता रहेको बताए ।
‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली भयो भने के होला हालत ? अमेरिकामा अहिले भागाभाग छ । बोल्यो कि पोल्यो हुन्छ । नेपाल जस्तो देशमा प्रत्यक्ष निर्वाचित प्रणालीमा जान धेरै बहस गर्नुपर्छ’, उनले भने ।
उनले यो प्रणाली लागू हुँदा नेपालीहरू अमेरिकाबाट भागाभाग हुने पनि जिकिर गर्दै भने, ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा गयो भने अहिले नेपालीहरू अमेरिकाबाट भागाभाग हुन्छ । केही चाहिँदैन । कुनै पनि ठाउँ चाहिँदैन । विभिन्न देशको राष्ट्रपति प्रणालीका समस्याहरू थाहा पाउनुभएको छैन भने एउटा गोष्ठि राख्नुस् । म सबै विवरण नै दिन्छु । म आफैं त्यहाँ गएर सुनेको पनि छु, बुझेको पनि छु ।’
विचार मिलेन र साझा सहमतिमा नपुगी भएको एकता काँचो हुने उनले बताए । तर एउटै पार्टी बनाउन नसकेपनि समाजवादी मोर्चा बनाएर जानुपर्ने धारणा उनले राखे । मोर्चामा रहेका तीन पार्टी(माओवादी, एकीकृत समाजवादी र नेकपा) मिलेर अगाडि बढे देश तथा विदेशमा तरंग ल्याउने नेपालको दाबी थियो ।