काठमाडौं । नेपाल कोदो रक्सी तथा घरेलु उत्पादन तथा बिक्री संरक्षण समितिको केन्द्रीय तदर्थ समिति गठन भएको छ । मङ्गलवार पूर्वमन्त्री तथा संविधान सभा सदस्य शेरबहादुर तामाङको प्रमुख आतिथ्यमा भएको भेलाले छिरिङ ग्याल्बु लामाको संयोजकत्वमा ३१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन भएको हो । सहसंयाेजकमा कृष्ण बहादुर आले मगर रहेका छन् ।
![](https://www.drishtinews.com/wp-content/uploads/2025/01/raksi-768x384.jpg)
काठमाडौं गोकर्णस्वर नगरपालिका स्थित पिस ब्याङ्कुटमा भएको भेलाको प्रमुख अतिथि रहेका पूर्वमन्त्री तामाङले अब नेपालमा आर्थिक प्रगति र रोजगार उत्पादन गर्नका लागि घरेलु मदिराहरू जस्ता अति महत्त्वपूर्ण कुराहरूमा रोक्न नहुने बताए ।
उनले कोदोको रक्सीको गुणस्तर विदेशी रक्सीको तुलनामा धेरै माथि रहेको र अब राज्यले यो विषयमा तत्काल काम गर्नु पर्ने बताए यदि राज्यले यो विषयलाई गम्भिर भएर काम गरेन भने अब घरेलु मदिरा उत्पादकहरू चुप नबस्ने र बस्न नहुने समेत बताए ।
नेपालमा हाल कोदोको रक्सी उत्पादन तथा बिक्री गर्ने अनुमति नभएता पनि अब राज्यले तत्काल कानुन निर्माण गरी कोदोको रक्सीलाई करको दायरामा ल्याएर खुल्ला गर्नुपर्ने लामाले बताए ।
राज्यले घरेलु मदिरा शुद्ध तरिकाले उत्पादन गरेको मदिराहरूलाई बिक्री वितरणमा कुनै रोक लगाउन नहुने सँगै नेपाली उत्पादनलाई अब रोजगारी र अर्थतन्त्रमा जोड्नका लागि सरकार सङ्ग नै सहकार्य गर्ने उद्देश्यले यो समिति निर्माण गरिएको लामाले बताए ।