Logo
Logo
टिप्पणी

कम्युनिस्ट आन्दोलनका खलनायक


7k
Shares

काठमाडौं । २०७४ को आमनिर्वाचनमा झन्डै दुईतिहाइ सिट जित्न सफल कम्युनिस्ट आन्दोलन कम्युनिस्ट नेताहरूकै कारण धराशायी भयो । २०१५ सालको पहिलो आम निर्वाचनमा ४ सिट मात्र जितेका कम्युनिस्टले प्रभाव बढाउँदै लगेर दुई तिहाइको स्थितिमा पु¥याए पनि नेताहरूको अहंकार, दम्भ, घमण्ड र निरङ्कुशशैलीले टिक्न सकेन ।

कम्युनिस्ट पार्टीको दुई तिहाइको संसद् असंवैधानिक रूपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भंग गरेर जनताको आशालाई निराशामा बदल्ने काम गरे । पार्टीभित्र ओलीलाई उक्साउनेमध्ये एकजना खलनायक शंकर पोखरेल थिए । नेताहरूको मानमर्दनमा उनी अग्रपङ्क्तिमा उभिए ।

कार्यकर्ताको मूल्याङ्कन पनि गालीको आधारमा गर्ने भाष्य खडा गरिदिए । उनीहरूकै कारण नेकपा मात्रै होइन, एमाले पनि विभाजित हुन पुग्यो । ओली–पोखरेल पात्र मात्रै नभई प्रवृत्ति हो । यो प्रवृत्तिले कम्युनिस्ट आन्दोलनलाई ठुलो क्षति पु¥याएको छ ।

शंकर पोखरेल अहिले पनि कम्युनिस्ट शक्तिलाई कसरी कमजोर पार्ने भन्ने षडयन्त्रमै छन् । उनी कार्यकर्ता र जनतामा भिजेका नेता होइनन् । उनी जनताको मात्रै होइन, कार्यकर्ताको समेत कुरा सुन्दैनन् । केही सीमित व्यक्ति र परिवारलाई बोक्छन् । उनी एमालेको नवौँ महाधिवेशनमा उपमहासचिवमा पराजित भएका थिए । तर, १०औँ महाधिवेशनमा ओलीले उनैलाई महासचिव बनाए ।

उनी आम निर्वाचनमा पनि पटक पटक पराजित भएका छन् । एमाले–माओवादी गठबन्धनपछि २०७४ को प्रदेश सभा निर्वाचनमा दाङबाट पहिलो पटक निर्वाचन जितेका पोखरेल लुम्बिनीको मुख्यमन्त्री बनेका थिए । उनको मुख्यमन्त्रीको कार्यकाल पनि विवादित रह्यो ।

गत निर्वाचनमा माओवादी केन्द्रकी रेखा शर्माले पोखरेललाई हराइदिइन् । उनै पोखरेल आजभोलि ‘जनमत नपाएकाहरूले शासन गर्ने हैसियत राख्दैनन्’भन्दै भाषण गर्दै हिँडेका छन् । विशेषगरी, कांग्रेस सभापति शेरबहादुर देउवालाई खुसी पार्न पोखरेल माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूप्रति आक्रोश पोख्दै आएका छन् ।

पोखरेलकै षडयन्त्रमा डा. भीम रावल एमालेबाट निष्कासित भएका छन् भने डा. विन्दा पाण्डे र उषाकिरण तिम्सेनाहरू कारबाहीमा परेका हुन् । कम्युनिस्ट एकताको कुरा गर्ने एमालेका नेताहरू अहिले किनाराको साक्षी बनेर बस्न विवश छन् । एमालेभित्र ठुलो पङ्क्ति निराश छ । कम्युनिस्ट पार्टीहरूप्रति जनताको मोहभंग हुँदै छ ।

कम्युनिस्ट शक्तिलाई कमजोर बनाउन गैरकम्युनिष्ट शक्तिहरूले षडयन्त्र गर्नु सामान्य कुरा हो । कम्युनिस्ट–गैरकम्युनिष्ट संघर्षबाटै कम्युनिस्टहरू झाँगिँदै अएका हुन् । कम्युनिस्टकै बलमा अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र आएको हो । यसको रक्षाका लागि पनि कम्युनिस्ट शक्ति बलियो हुनुपर्छ ।

तर, शोषण र वर्गरहित समानतामूलक समाज निर्माणको आदर्श बोक्ने कम्युनिस्ट नेताहरू नै सिद्धान्तबाट च्युत हुँदै गएका छन् । यहीकारण कम्युनिस्टहरू हाल सच्चिने कि सकिने अवस्थामा पुगेका छन् । यस्तो बेला कम्युनिस्ट पार्टीहरू बिचको एकताको आवश्यकता, कमजोरीको समीक्षा र औचित्यबारे बहस चलाउनुपर्नेमा पोखरेल कम्युनिस्ट नेताको उछितो काट्दै छन् ।

यो कम्युनिस्टहरूका लागि लज्जाजनक विषय हो । सोभियत संघ बिघटनको खलनायक बोरिस येल्तसिनजस्तै भूमिकामा पोखरेल देखिँदै छन् । येल्तसिन अवसरलाई आफ्नो पक्षमा उपयोग गर्न जान्ने अवसरवादी नेता हुन् ।

उनी सोभियत कम्युनिस्ट पार्टीमा प्रवेश गरेर सबै सुविधाहरू लिँदै पोलिटब्युरो सदस्यसम्म पुगेपछि कम्युनिस्ट पार्टीको साधारण सदस्यतासमेत त्यागेको घोषणा गर्दै प्रजातान्त्रिक खेमाको नेताको रूपमा उभिएर गद्दारी गरेका थिए । येल्तसिन सोभियत संघको विघटनमा खलनायक हुन् । उनले समाजवादी अर्थव्यवस्थाका विरुद्ध निरन्तर प्रहार गरेका थिए ।

पोखरेल अहिले त्यही प्रवृत्ति बोक्दै छन् । उनी कम्युनिस्ट नेताहरूको तेजोवध गर्दै कांग्रेस सभापति देउवाको गुणगान गाउँदै छन् । पोखरेलका गतिविधिले नेपालको कम्युनिस्ट आन्दोलन कमजोर पार्न सुनियोजित ढंगले लागेको प्रस्ट छ । यस्ता प्रवृत्तिविरुद्ध बेलैमा सचेत हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्