Logo
Logo

सिधा वार्ता गर्ने जेलेन्स्कीको प्रस्तावलाई पुटिनले गरे अस्वीकार


3k
Shares

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीले गरेको प्रत्यक्ष वार्ताको प्रस्ताव अस्वीकार गरेका छन् ।

उनले युक्रेनमा लामो समयदेखि आमनिर्वाचन हुन नसकेको विषयलाई कारण देखाउँदै जेलेन्स्कीलाई वार्ताका लागि योग्य नभएको संकेत दिएका हुन् ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने पुटिन वार्ताबाट डराएको आरोप लगाएका छन् । ‘पुटिन बलियो नेतासँग डराउँछन् । उनले शान्ति वार्ता अघि बढाउन चाहँदैनन्, बरु युद्धलाई अनन्तकालसम्म लम्ब्याउन चाहन्छन्,’ युक्रेनी सञ्चारमाध्यमसँग बोल्दै जेलेन्स्कीले प्रतिक्रिया दिएका छन् ।

केही दिनअघि राष्ट्रपति जेलेन्स्कीले रूसी समकक्षी पुटिनलाई वार्ताको लागि आह्वान गरेका थिए ।
पुटिनले वार्ता प्रस्ताव अस्वीकार गरेलगत्तै युक्रेनले ड्रोन आक्रमण तीव्र पारेको छ ।

युक्रेनी सेनाले बुधवार बिहान रूसका विभिन्न स्थानमा भारि मात्रामा ड्रोन आक्रमण गरेको छ । रूसी रक्षा मन्त्रालयका अनुसार पश्चिमी रूसका विभिन्न क्षेत्रमा कुल १ सय ४ ड्रोन आक्रमण भएका छन् ।

यसमध्ये ११ ड्रोनलाई स्मोलेन्स्क क्षेत्रमा खसालिएको रूसी रक्षा अधिकारीहरूको दाबी छ ।

रूसी सञ्चारमाध्यमहरूका अनुसार आक्रमण मुख्यत: तेल प्रशोधन केन्द्र, ऊर्जा पूर्वाधार तथा केही सैन्य प्रतिष्ठानहरूमाथि लक्षित थियो । यस आक्रमणपछि केही स्थानमा आगलागी भएको र विद्युत आपूर्ति प्रभावित भएको बताइएको छ ।

यससँगै युक्रेनी सैन्य गुप्तचर प्रमुख किरिलो बुदानोभले उत्तर कोरियाले युक्रेनी सेनाविरुद्ध प्रयोग गर्न रूसलाई थप १ भन्दा बढी तोप प्रणाली पठाउने तयारी गरेको आरोप लगाएका छन् ।

ती तोपहरू दक्षिण कोरियाको राजधानी सियोलमाथि आक्रमण गर्न डिजाइन गरिएका भए पनि अब युक्रेनी भूभागमा प्रयोग गरिने अनुमान गरिएको छ ।

बुदानोभका अनुसार उत्तर कोरियाले रूसको कुर्स्क क्षेत्रमा आफ्ना ‘तोप प्रणाली’ दोब्बर बनाउने योजना अघि बढाइरहेको छ । यसबाट युक्रेनी सीमावर्ती क्षेत्रहरूमा तोप आक्रमणको जोखिम बढ्ने विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्