काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र नित्यानन्द पाण्डेको इजलासले भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको कागजात मगाउन आदेश जारी गरेको छ ।

आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै झाले सर्वोच्चमा दिएको रिटमाथि सुनुवाइ गर्दै सुवेदी र पाण्डेको इजलासले कागजात मगाउने आदेश दिएपछि थुनामुक्त हुने सम्भावना न्यून भएको छ । गत असार १५ गते पक्राउ परेका झालाई जिल्ला, उच्च र सर्वोच्चले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका हुन् ।
भुटानी शरणार्थी सम्बन्धी मन्त्रिपरिषद्बाटै निर्णय गराउने भन्दै रकम असुल गरेको आरोप लागेका झा पक्राउ परेपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेको थियो ।
झाले शरणार्थीसम्बन्धी बयानमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाको नाम पोल्ने र उनी पनि पक्राउ पर्ने सम्भावना बढेपछि कांग्रेस–एमाले गठजोडको वातावरण निर्माण भएको थियो ।
आरजुको अगुवाइमा देउवासहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा झा पक्राउ परेको भोलिपल्ट १६ असारमा भएको भेटले गठबन्धनको आधार तय गरेको थियो ।
आरजुलाई पनि शरणार्थी प्रकरणमा पक्राउ गर्न सादा पोसाकमा प्रहरी बुढानीलकण्ठ वरिपरि घुमेपछि अत्तालिएका देउवा दम्पतीले बालकोटमै पुगेर ओलीलाई प्रधानमन्त्री बनाउन सहमति जनाएका हुन् । झा पक्राउ नपर्दासम्म नडराएकी आरजु झा पक्राउ परेपछि अतालिएकी थिइन् ।
भारतबाट पक्राउ गरेर ल्याइएका झालाई अहिले सुन्धारास्थित केन्द्रीय कारागारमा राखिएको छ । झाको कनेक्सन के हो भन्ने बुझ्न यो भन्दा अघिल्लो पटकको ओली नेतृत्वको सरकार भएको बेलासम्म पुग्नुपर्छ । जब २०७८ असार २८ मा सर्वोच्च अदालतले ओली नेतृत्वको सरकार हटाएर देउवा नेतृत्वमा सरकार बनाउन परमादेश दियो । त्यसपछि शरणार्थी प्रकरणका बिचौलियाहरू छटपटाएका थिए ।
त्यो बेला ओली सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले ३० जेठ २०७६ मा पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन कार्यदल गठन गरेका थिए । त्यसबेलाबाटै अमेरिका पठाउने नाममा नक्कली भुटानी शरणार्थी बनाएर रकम उठाउन सुरु भएको थियो । तर, कार्यदलले सिफारिस गरेका कुनै पनि व्यक्ति पठाउन नपाउँदै गृहमन्त्री बादल र उनका सुरक्षा विज्ञ इन्द्रजित राई सरकारबाट बाहिरिए ।
नयाँ बनेको देउवा नेतृत्वको सरकारमा गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिव टेकनारायण पाण्डे आए । उनीहरूसँग सम्बन्ध बनाउन मुख्य बिचौलियाहरू केशव दुलाल, सोनु भण्डारी, सन्देश शमा, रामशरण केसीलगायत लागिरहेका थिए । सरकार र गठबन्धनको नेतृत्वसँग सम्बन्ध स्थापित गर्ने मुख्य पात्र झा हुन सक्ने दुलाल र शर्माले निष्कर्ष निकाले ।
सुजाता कोइराला परराष्ट्रमन्त्री हुँदा सचिवालयमा बसेर काम गरेका दुलालले झाको गिरिजाप्रसाद कोइरालासँग हुने गफगाफ र सम्बन्ध थाहा पाएका थिए । त्यसपछि नेपालस्थित भारतीय दूतावाससँग घनिष्ठ सम्बन्ध रहेका झालाई भेटेर दुलाल र केसीले योजना सुनाए ।
बेचन झाले तत्कालीन देउवा देउवापत्नी आरजु राणा र एमालेका शीर्षस्थ नेताहरूसँग सेटिङ मिलाउने काम गरेका अनुसन्धानबाट खुलेको प्रहरी अधिकारीहरू बताउँछन् । शुरूमा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग राम्रोे सम्बन्ध रहेका झाले पछि देउवालाई पहिलोपटक प्रधानमन्त्री बनाउन भारततर्फ ‘च्यानल’ मिलाएका थिए ।
झाले आफूले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री खाँणलगायतसँग सम्बन्ध स्थापित गर्न सहजै सक्ने तर, त्यसका लागि पहिला पेस्की चाहिने बताए । दुलाल र भण्डारी झालाई पेस्कीस्वरुप दुई करोड दिन तयार भए । रामशरण केसीले झाको नाममा काटेको दुई करोडको चेक सार्वजनिक भइसकेको छ ।
२०८०, २६ वैशाखमा पक्राउ परेका झालाई चेक दिने केसीमाथि अनुसन्धान गर्ने क्रममा झाको संलग्नता खुलेको हो । झाले शरणार्थी सूचीमा राखेर विदेश पठाउन राजनीतिक लबिङ गर्ने भन्दै दुई करोड रुपैयाँ लिएको केसीले बयानका क्रममा बताएका थिए ।
झालाई पहिला आफूले भेटेर प्रधानमन्त्री देउवाले गृहमन्त्री खाँणलाई भेट्न पठाएका थिए । देउवाले टेलिफोनमा खाँणलाई विषयवस्तु नभनी बेचन झा नाम गरेको व्यक्तिलाई आफूले भेट्न पठाएको र उसले भनेको काम जस्तो भए पनि सम्पन्न गरेर पठाउन निर्देशन दिएको जिल्ला अदालत काठमाडौँमा दायर अभियोजन पत्रमा उल्लेख छ ।
अभियोजनमा बिचौलियाहरूले देउवासँग पहुँच विस्तार गर्न र आफूहरूको धन्दा सफल बनाउन कांग्रेस नेतृत्वको सरकारमा प्रभाव विस्तारमा झालाई प्रयोग गरेका उल्लेख गरेको छ । झाले भारतीय दूतावास र नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको सहयोगमा देउवालाई भेटेका र देउवाले निर्देशन दिएपछि खाँणलाई भेटेका उल्लेख छ ।
त्यसपछि झाले गृहमन्त्री खाँण र सचिव पाण्डेलाई ठगी गिरोहसँग भेटाएका थिए । सचिव पाण्डेले लिखित बयानमै ‘मन्त्रालयमा राजनीतिक रूपमा सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिन्छ ’ भनेका थिए । झाले सत्तागठबन्धनमै आफ्नो भूमिका रहेको भनेर सचिव पाण्डेलाई मन्त्रालयमा बताएका थिए । झाले पहिला खाँण र गृहसचिव पाण्डेलाई भेटेपछि बिचौलियालाई पनि मन्त्री र सचिवसँग भेट गराएका थिए ।
झाको कांग्रेस पूर्वमहामन्त्री सिटौलासँग लामो समयदेखि निकट सम्बन्ध छ । सिटौलाले पनि देउवालाई झालाई भेट्न सुझाएका थिए । ‘पहिले पनि कांग्रेसका थुप्रै शीर्ष नेताहरूसँग उनको निकट सम्बन्ध रहेछ, त्यसबेला बालुवाटारमा पनि उहाँको निकट सम्बन्ध थियो’, प्रहरी स्रोत भन्छ ।
तत्कालीन गृहमन्त्री ‘बादल’ले सुरक्षा सल्लाहकार राई समेतको सिफारिसमा कार्यदललाई दिएको कार्यादेशको अन्तिम बुँदामार्फत यो खेल सुरुवात भएको थियो । कार्यदलको कार्यादेश सम्बन्धी छैटौँ बुँदामा ‘दर्ता हुन छुट भएका शरणार्थीहरूको लगत संकलन गरेर उनीहरूलाई भुटान फिर्ता गर्न सकिने वा नसकिने, तेस्रो मुलुक पठाउन सकिने वा नसकिने’ विषयमा अध्ययन गर्न भनिएको थियो । त्यही बुँदालाई आधार मानेर तत्कालीन गृहमन्त्री बादलका सुरक्षा विज्ञ राईले नक्कली भुटानी शरणार्थी बनाउने धन्दा सुरुवात गरेका थिए ।
भारतीय नागरिक झाले सिरहाको देउरिपट्टीमा विवाह गरेका छन् । उनी तराई कांग्रेसका संस्थापक नेता बेदानन्द झाका भाइ कुलानन्दका ज्वाइँ हुन् । जेठाससुरा बेदानन्दकै लिगेसीबाट काठमाडौ आएका झा यतै स्थापित हुने क्रममन उच्च राजनीतिक नेतृत्वसँग सम्पर्क स्थापित गरेका थिए ।
झाको नेपाल र भारत दुवैतिर नागरिकता रहेको प्रहरी अधिकारीहरू बताउँछन् । काठमाडौंको बानेश्वरमा घर भएका झाको कांग्रेसका धेरै नेतासँग सम्बन्ध देखिएको छ । ठूला ठेक्कापट्टामा पनि झा संलग्न रहेको उनको चिनजानका व्यक्तिहरू बताउँछन् ।
झाले तत्कालीन देउवा देउवापत्नी आरजु राणा र एमालेका शीर्षस्थ नेताहरूसँग सेटिङ मिलाउने काम गरेका अनुसन्धानबाट खुलेको प्रहरी अधिकारीहरू बताउँछन् । उनको घर मध्यबानेश्वरस्थित चेल्सी कलेज र पाठशाला स्कूलको बीचमा छ । उनी ४० वर्षदेखि काठमाडौंमा बस्दै आएका छन् ।
शुरूमा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग राम्रोे राम्रो सम्बन्ध रहेका झाले पछि देउवालाई पहिलोपटक प्रधानमन्त्री बनाउन भारततर्फ ‘च्यानल’ मिलाएका थिए ।
बेचनको आरजुका भाइ भुषण राणासँग व्यापारिक सम्बन्ध छ । झा जलविद्युत् क्षेत्रका क बर्गका ठेकेदार हुन् । बेचनको ‘विभांशु ब्रदर्स’ नामको ठेक्कापट्टा गर्ने कम्पनी छ । ट्रान्सफर्मरदेखि ‘एसआर कन्डक्टर’ खरिदका काम गरेका छन् । अहिले यही प्रकरणमा थुनामा रहेका तत्कालीन उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीसँग पनि नजिकको सम्बन्ध बनाएका थिए ।