काठमाडौं, १० असार।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति पहिलो दिनको बैठक सकिएको छ । बैठकमा पार्टीका दुई अध्यक्षले सम्बोधन गरे ।
बुधबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकमा अध्यक्ष द्वय केपी शर्मा ओली पुष्पकमल दाहालले सम्बोधन गरी पार्टी र सरकारका कामबारे खुलस्त छलफल गर्न आग्रह गरेका हुन् ।
दुबै अध्यक्षले पार्टीका गतिबिधी र सरकारका काम कारवाहीबारे स्थायी समिति सदस्यहरुलाई खुलेर आ–आफ्नो धारणा राख्न आफ्नो सम्बोधनमार्फत भनेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा अध्यक्ष ओलीले आफ्नो सम्बोधनमा पार्टीको र सरकारको अबको कार्यभारका बारेमा छलफल गरौं र स्थायी समितिमा निस्केको निष्कर्षका आधारमा अघि बढौं भनेका थिए ।
त्यसैगरी अर्का अध्यक्ष दाहालले पनि सरकारले अहिलेसम्म गरेका कामको समग्र छलफल गर्नका लागि सबैलाई खुलस्त धारणा राख्न आग्रह गरेका थिए । त्यसैगरी उनले सरकार र पार्टी सञ्चालनमा देखिएका कमजोरीहरु सुधारेर अघि बढ्न तर्फ जानु पर्ने बताएका थिए । बैठकमा एमसीसीबारे पनि छलफल हुने छ ।