नवलपरासी । पश्चिम नवलरासीमा प्रहरीले लागुऔषध कारोबारीलाई समात्न गोली चलाएको छ । बिहीबार राति ८ बजेतिर नवलपरासीको रामग्राम नगरपालिका–१२ पचगाँवामा प्रहरीले चार राउन्ड गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही स्थानका ५२ वर्षीय राजेश लोनिया रहेको नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रेशम बोहराले जानकारी दिए । उनको खुट्टाको गोली लागेको छ ।
डिएसपी बोहराका अनुसार राजेश लोनियाको घरमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचना पाएपछि लागुऔषध नियन्त्रण ब्युरो भैरहवा शाखाबाट प्रहरी नायब निरीक्षक सागर भट्टराईको नेतृत्वमा ५ जनाको टोली लोनियाको घरमा पुगेको थियो । त्यहाँ लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिन खोज्दा उनीहरू प्रहरीमाथी जाइलागेपछि गोली चलाएको डिएसपी बोहराले बताए ।
त्यस क्रममा प्रहरीले चार राउन्ड फायर गरेको र एउटा गोली मात्रै भागिरहेको लोनियालाई लागेको थियो । अर्का व्यक्ति भने फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरीको गोली लागेर घाइते भएका लोनियालाई प्रहरीकै गाडीमा जिल्ला अस्पताल परासी पठाइएको छ । उनको अवस्था मध्यम रहेको डिएसपी बोहारले जानकारी दिए । लोनियाको घरबाट ९३ पुरिया ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ बरामद भएको पनि प्रहरीले जनाएको छ । फरार व्यक्तिको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।