काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशनको आजदेखि सुरु हुँदैछ । हिउँदे अधिवेशनको पहिलो दिनको बैठक नै विपक्षी दलहरुले अवरोध गर्ने तयारी गरेका छन् । सरकारले आज हिउँदे अधिवेशनको पहिलो बैठकमा विभिन्न ६ अध्यादेश पेश गर्दैछ । तर, विपक्षी दलहरु अध्यादेश अस्वीकार गर्दै प्रतिवाद गर्ने तयारी गलेका छन् ।

संसदको आजको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्दैछन् । नेताहरु सम्बोधन गरिसकेपछि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलका सांसदहरु विरोधमा उत्रिने तयारीमा रहेका छन् ।
आजको बैठकमा हालै सरकारको सिफारिसमा राष्ट्रपति पारित सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेश हुने आजको कार्यसूची छ ।
त्यस्तै, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पनि आजको कार्यसूचीमा चढाइएको छ ।
विहीबार माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरुको बैठकले अध्यादेशको विरोधमा संसदमा उत्रने निर्णय गरेको थियो । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले माघ २ गते अध्यादेश ल्याइएको र माघ १८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको मनसाय नै ठीक नभएको भन्दै संसदमा सशक्त प्रतिवाद गर्ने बताएका छन् ।
सरकारले ल्याएका अध्यादेशहरू प्रक्रियागत हिसाबमामा समेत गलत भएको विपक्षी दलहरुको निष्कर्ष छ । अध्यादेशको विरोधसहित जनसरोकारका विषयहरु एकमत भएर संसदमा उठाउने विपक्षी दलका नेताहरुले बताएका छन् ।