काठमाडौं । कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको केन्द्रीय निर्वाचनको पूर्वसन्ध्यामा वृहत् प्रगतिशील, गणतान्त्रिक, समाजवादी, स्वतन्त्र, देशभक्त, समावेशी गठबन्धन बनेको छ ।
गठबन्धनमा नेकपा एमालेनिकट वकिलहरूको संगठन पिपिएलए, माओवादीनिकट आरपीएलएलगायत ५ दल निकट वकिलबीच सहमति भएको हो । आगामी साता बार काउन्सिलकाे निर्वाचन हुँदैछ ।

उक्त निर्वाचनका लागि एमाले र माओवादीका उम्मेदवारलाई जिताउने र त्यसपछि फागुन २३ मा हुने नेपाल बारको निर्वाचनमा साझा उम्मेदवार बनाएर जाने सहमतिमा हस्ताक्षर भएको छ ।
बिहीबार भएको सहमतिमा एमालेनिकट पिपिएलएका अध्यक्ष भोजराज आचार्य, माओवादीनिकट आरपिएलएका अध्यक्ष रमणकुमार श्रेष्ठ, विप्लव नेकपानिकट पिएलएका अध्यक्ष कपिलचन्द्र पोखरेल, मोहन वैद्यनिकट एनपिएलएका अध्यक्ष देवकुमार मोक्तान र जसपानिकट एफएलएका अध्यक्ष दीपक राईले हस्ताक्षर गरेका छन् ।
आगामी माघ २६ गते हुने बार काउन्सिलको निर्वाचनमा सातै प्रदेशमा एमाले माओवादी गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने सहमति भएको छ । सातमध्ये ५ प्रदेशमा एमाले र २ प्रदेशमा माओवादीनिकट उम्मेदवार रहेका छन् । सोही सहमित अनुसार आगामी नेपाल बार एशोसिएसनको निर्वाचनमा साझा हित दृष्टिकोण र प्रतिबद्धता निर्माण गरी एकताबद्धरुपमा अघि बढ्ने सहमति भएको उल्लेख छ ।
