Logo
Logo

वासिंगटन विमान दुर्घटना : हालसम्म ५० जनाको शव फेला


441
Shares

काठमाडौं । बुधबार राति अमेरिकाको वासिंटन डिसीमा भएको विमान र हेलिकप्टर दुर्घटनामा मृत्यु भएकामध्ये हालसम्म ५० जनाको शव फेला परेको छ । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार पोटोम्याक नदीबाट ४० जनासहित अहिलेसम्म ५० जनाक शव फेला परेको हो ।

१७ जना अझै बेपत्ता छन् । उनीहरूको खोजी रहेको समाचारमा उल्लेख छ । विमान र हेलिकप्टरमा सवारमध्ये कोही पनि जिवित नरहेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुर्घटनामा कोही जिवित नरहेको बिहीबार पत्रकारहरूसँग बताएका छन् ।

वासिङ्टनस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको विचिटाबाट आएको अमेरिकन एयरलाइन्सको जहाज सेनाको हेलिकप्टरसँग ठोक्किएको थियो ।

आकाशमै ठोक्किएका जहाज र सेनाको ब्ल्याक हक हेलिकप्टर आगोको लप्टोसहित पोटोम्याक नदीमा खसेको थियो । जहाजमा चालकदलका ४ सदस्यसहित ६४ जना सवार थिए भने हेलिकप्टरमा तीनजना सैनिक सवार थिए । उनीहरू सबैको मृत्यु भएको भनिएपनि सबैको शव फेला परेको छैन ।

जहाजमा अन्य मुलुकका मानिसहरू पनि सवार थिए । तीमध्ये दुईजना अर्जेन्टिनाका र तीनजना चिनियाँ नागरिक रहेको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अरू कुन कुन देशका नागरिक थिए भन्ने कुरा खुलाइएको छैन ।

वासिङ्टन पोस्टका अनुसार दुर्घटनाको समयमा विमानस्थलको टावरमा कर्मचारी अभाव थियो । त्यतिबेला चारजना एटिसीको काम दुई जनाले मात्रै गरिरहेको उड्डयन विभागलाई उद्धृत गर्दै समाचार जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्