काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने बताएका छन् । प्रतिनिधिसभाको शुक्रवारको बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने भन्दै यसको विकल्प खोज्ने नभई सुदृढ बनाउनुपर्ने बताएका हुन् ।

उनले कानुन निर्माणमा ढिलाइ गर्न नहुने बताए । प्रतिनिधिसभाको शुक्रवारको बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गर्नुपर्ने समेत बताए ।
‘हामीले अवलम्बन गरेका सबै प्रणालीमा लोकतन्त्रका सबै गुण विद्यमान छन् । संसारका कमै देशमा रहेको समानुपातिक प्रणालीको प्रतिनिधित्व अपनाएका छौ । लोकतन्त्र अनुशासनको पद्धति पनि हो’, देउवाले भने, ‘लोकतन्त्रको विशाल छहारीमा शिक्षित समाज निर्माण गर्नुपर्छ’, उनले भने ।
सरकारको समग्र मूल्यांकन गर्न ६ महिनाको समय पर्याप्त नभएको भन्दै भने, ‘सरकार सकारात्मक रुपले अघि बढेको छ । आगामी दिनमा पनि राम्रो काम गर्दै जानेछ भन्ने मैले विश्वास लिएको छु । कुनै पनि सरकारको समग्र मूल्यांकन गर्न ६ महिनाको समय पर्याप्त हुँदैन । सरकारले यो अवधिमा गरेका काम राम्रा छन् । त्यसैले भविष्यमा असल परिणाम देखिने मैले अनुभव र अनुभूति गरेको छु ।’