काठमाडौं । मर्स्याङ्दी नदीमा एमए पावर प्रालिले निर्माण गर्ने ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैक लिमिटेडको अगुवाइमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

लगानी सम्झौता एमए पावर प्रालिका अध्यक्ष अनुप आचार्य र कुमारी बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको उपस्थितिमा सम्झौता सम्पन्न भएको हो ।
उक्त जलविद्युत् आयोजनामा कुमारी बैक लिमिटेड, प्रभु बैक लिमिटेड, सिद्धार्थ बैक लिमिटेड, कृषि विकास बैक लिमिटेड लगायतका विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको १५ अर्ब १८ करोड ७५ लाखको संयुक्त लगानी रहेको छ ।
स्वपुँजी लगानी तर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दीपक बरालको हुनेछ । साथै डोल्मा इम्पाक्ट फन्डले पनि कम्पनीमा ४९ प्रतिशत सम्म स्वपुँजी लगानी गर्न पूर्व आवश्यक उचित परिश्रम अध्ययन अगाडी बढाएको कम्पनीका अध्यक्षले बताएका छन् ।
यही समूहबाट हाल सेती खोला हाइड्रोपावर लिमिटेड मार्फत सेती खोला जलविद्युत आयोजना २२ मे.वा. निर्माण कार्य अन्तिम चरणमा रहेको छ । आयोजनाको नेपाल बिद्युत् प्राधिकरण सँग २०८० कार्तिक ०१ गते बिद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भई व्यापारिक उत्पादन सुरु गर्नु पर्ने मिति २०८६ वैशाख २२ रहेको छ ।