काठमाडौं, ११ असार ।
राष्ट्रिय वाणिज्य बैंकको नेपालगञ्ज शाखाबाट नक्कली लालपूर्जाका आधारमा एक करोडभन्दा धेरै कर्जा प्रवाह भएको खुलेको छ । बैंकका कर्मचारीमाथि प्रहरीले छानबिन अघि बढाएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–११, भठी टोलका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढले कागज किर्ते गरी बैंकबाट एक करोड २५ लाख रुपैयाँ कर्जा निकालेका हुन् । उनलाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
उनले विभिन्न सरकारी कार्यालयको कागजात र छाप किर्ते गरी नेपालगन्जको त्रिभुवन चोकस्थित राष्ट्रिय वाणिज्य बैंकबाट दुई करोड रुपैयाँको कर्जा स्वीकृत गराएका थिए । स्वीकृत रकममध्ये एक करोड २५ लाख रुपैयाँ लिइसकेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास खड्काले बताए ।
नेपालगन्ज उपमहानगरपालिकाको कागजात र सहीछाप किर्ते गरेको सूचनाको आधारमा उपमहानगरले उजुरी गरेपछि घटना बाहिर आउको हो । उजुरीका आधारमा अनुसन्धान गर्दै जाँदा कर्जा लिन जसगढले किर्ते कागजात खडा गरी नभएको जमिनको लालपुर्जा तयार गरी बैंकमा पेस गरेको प्रहरीले जनाएको छ । नेपालगन्ज उपमहानगरपालिका–११, भठी टोलमा चार–चार धुरको नक्कली लालपुर्जा बनाएर बैंकमा पेस गरेको प्रारम्भिक छानबिनमा खुलेको छ । प्रहरीले जसगढसँगै सरकारी कागजात किर्ते गर्न सहयोग गर्ने र नक्कली कागजातलाई आधार मानेर दुई करोड रुपैयाँ कर्जा स्वीकृत गर्ने बैंकका कर्मचारी पनि अनुसन्धानको दायरामा रहेको बताए । ‘यो मुद्दामा मालपोत, नापी शाखा, नेपालगन्ज उपमहानगरपालिका, बैंकका कर्मचारी र इन्जिनियर पनि तानिन सक्छन्,’ डिएसपी खड्काले भने ।
प्रहरीका अनुसार बैंकबाट कर्जा लिन जसगढले चारवटा धितो राखेका छन् । त्यसमध्ये भवानीयापुर र उदयपुरका १९ र १५ धुर जमिन सक्कली भए पनि नेपालगन्ज–११ को चार–चार धुरको जमिन नक्कली हो । धितो राखेको चार–चार धुरका दुईवटा कित्ता अहिलेसम्म फेला परेको छैन ।
यसरी कर्जा दिंदा बैंकका कर्मचारीले फिल्ड र मालपोतमै गएर बुझ्नुपर्ने भएपनि मिलेमतोमा कर्जा दिएको प्रहरी आशंका छ ।