काठमाडौं, १२ असार । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको शुक्रबार बैठकमा छिमेकी भारतद्वारा अतिक्रमित नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुराको भूमि फिर्ता गर्न सरकारले पहल गरेपनि भारतले वार्ताको सकारात्मक तत्परता नदेखाइरहेको जानकारी दिइएको छ ।
यही १० असारदेखि शुरु भएको नेकपा स्थायी कमिटीको बैठकको आज दोस्रो दिन परराष्ट्रमन्त्रीसमेत रहनुभएका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले कूटनीतिक पहलद्वारा नै समस्याको समाधान गरिने उल्लेख गर्दै चीनद्वारा नेपाली भूमि अतिक्रमण भएको भन्ने झूठो, नियोजित र भ्रामक प्रचारमा कुनै सत्यता नभएको र चीनसँग सीमाका सम्बन्धमा कुनै समस्या नरहेको पनि स्पष्ट पारे ।
बैठकमा १८ स्थायी कमिटीका सदस्यले आफ्नो धारणा राखेका थिए । उनीहरुले नेपालको सीमा समस्या र समाधानका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो । बैठकमा लीलामणि पोखरेल, मातृका यादव, देव गुरूङ, गोकर्ण विष्ट, शंकर पोखरेल, पम्फा भुसाल, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृतकुमार बोहरा, भीम रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, केशव बडाल, गणेश साह, मुकुन्द न्यौपाने र नारायणकाजी श्रेष्ठले विचार राखेका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पहिलो दिन वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्तव्य व्यक्त गरेका थिए ।
बैठकमा कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठनिक एकताका बाँकी काम सम्पन्न गर्ने, अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) र विविध कार्यसूची छ । कार्यसूचीको विविधमा रुकुमपश्चिममा गत जेठ १० मा भएको मानवताविरोधी घटना, नागरिकतासम्बन्धी विधेयक, संघीय सांसदहरूको भत्ताका विषय राखिएको छ ।
बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कार्यव्यस्तताका कारण आजको बैठकमा आफू उपस्थित नहुने र बैठक सुचारुरूपमा सञ्चालन गर्न भन्नुभएको जानकारी गराएका थिए ।