काठमाडौं । एउटै व्याचबाट कति जना विशिष्ट श्रेणीमा कति जना बढुवा हुने कुनै मापदण्ड छैन । जसको शक्ति उसको बढुवा हुने प्रचलन नेपाल प्रहरीमा रहेको छ । वर्तमान आइजिपी वसन्त कुँवरको व्याचबाट एआइजी सिफारिस भएर पनि बढुवा हुन नपाएका एक जना पोषराज पोखरेल मात्रै हुन् । उनका व्याची प्रायः सबै एआइजी भएर घर जाने निश्चित छ । पछिल्लो पटक जनक भट्टराई एआइजी बनाउने गरी रविन्द्र केसीलाई राजिनामा दिन लगाइएको छ ।

बढुवा भएको एक महिना नहुँदै नेपाल प्रहरीका एआईजी रबिन्द्र केसीलाई राजीनामा दिएको प्रहरी प्रधानकार्यालय स्रोतले जनाएको छ । पूर्व शर्त अनुसार नै उनलाई राजिनामा दिन दबाब दिइएको थियो । ‘उहाँलाई बढुवा हुने वित्तिकै राजिनामा दिने पूर्व शर्त थियो’, स्रोतले भन्यो । हुनतः किरण राणा, रामदत्त जोशी, केदार ढकाल, उमेशराज जोशीलाई बढुवा गर्दा एकाध दुई दिनको मात्रै समय थियो । अहिले केसीमा लागि भने एक महिना वितेको भन्दै गृहमन्त्रालयका अधिकारीहले दबाब दिइएको थियो । एआइजी केसीले त्यो विषयमा नबताएपनि उनका आफन्तहरुले राजिनामाको दबाब आएपछि शुक्रबार नै प्रहरी प्रधान कार्यालयमा आइजिपीलाई राजिनामा बुझाएका थिए ।
कर्णाली प्रदेशमा प्रहरी प्रमुखका रुपमा कार्यरत डिआइजी जनक भट्टराईलाई गृहमन्त्री रमेश लेखकका सचिवालयबाट बढुवाको दबाब दिइएको स्रोतको दावी छ । गत महिना रिक्त रहेका एआईजीका दुई पदमा कुबेर कडायत र केसीको बढुवा भएको थियो । एआईजी केसी र डिआइजी भट्टराई दुवैको कार्यकाल अब ४० दिन मात्र बाँकी छ ।
आइजीपी वसन्तबहादुर कुँवरसँगै उनीहरुले आगामी ५ चैतमा अनिवार्य अवकाश पाउँदैछन् । अवकाश पाउनुअघि डिआइजी भट्टराई पनि एआईजी हुन खोजेका छन् । केही दिनपछि एआइजी टेकप्रसाद राईले पनि अवकाश पाउदैछन् । उनको स्थानमा पछिल्लो व्याचबाट बढुवा गर्नुपर्ने भएपछि केसीलाई दबाब दिन थालिएको थियो । ‘गृहमन्त्री र कांग्रेस निकट रहेका प्रहरी अधिकारीलाई एआइजी बनाउने शर्त रहेको देखिन्छ’, स्रोतले भन्यो ।
पछिल्लो पटक प्रहरी ऐन संसदमा पुगेको बेला सरकार भने एआइजी मात्रै बनाउने ध्यानमा लागेको छ । अबको करिब एक महिनापछि को प्रहरी महानीरिक्षक हुने भन्नेपनि रस्साकस्सी चलिरहेको छ । एआइजी दीपक थापा, सुदीप गिरी र टेकप्रसाद तामाङ मध्ये को आइजिपी भन्नेमा रस्साकस्सी चलिरहेको छ ।
सिआइबीमा रहेका थापा, एकेडेमीमा रहेका गिरी र उपत्यका कार्यालयमा रहेका तामाङले आ–आफ्नै शक्ति केन्द्रलाई परिचालन गरिरहेका छन् । यद्यपि, उनीहरु मध्ये सिनियरचाहि थापा रहेका छन् । थापाले यसपटक सिआइबीमा रहेर धेरै वटा मुद्दा फस्र्योट गरेका कारण पनि उनको पल्लाभारी रहेको स्रोतको दावी छ । थापा आइजिपी भएकै समयमा संसदबाट नयाँ ऐन पारित हुने संभावना रहेको छ । यदि सो ऐन पास भएमा थापा लगायत अन्य एआइजीहरुको कार्यकाल लम्बिनेछ ।