Logo
Logo

एक फोनले सत्ता गठबन्धनमा हलचल


13.1k
Shares

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई फोन गरेको विषयले राजनीतिक वृत्तमा हलचल ल्याएको छ । 

गत शनिबार माओवादी नेता वर्षमान र एमाले महासचिव शंकर पोखरेलबिच कुराकानी भएको थियो । शंकर पोखरेलले आफूलाई अध्यादेशबारे सहयोगको अपिल गर्दै फोन गरेको विषय वर्षमानले गुल्मी पुगेर खोलिदिएका थिए ।

शंकरले सहयोग मागेको विषयलाई वर्षमानले सार्वजनिक गरेको यो विषयले अहिले संशय मच्चाइदिएको छ । वर्षमान उक्त कुरा खोलेपछि राजनीतिमा कतिपय कुराहरू गोप्य  हुने र यस्ता विषयलाई सार्वजनिक खपतको विषय बनाइनु दुखद भएको भन्दै शंकरले गुनासो र आपत्ति प्रकट गरे । 

वर्षमानसँगको टेलिफोन संवादबारे सामाजिक सञ्जालमा टिप्पणी गर्दै पोखरेलले कम्युनिस्ट पार्टीबीचको ध्रुवीकरणका लागि आफूले प्रयास गरे पनि पुनले कुरा नबुझेको बताएका छन् । पोखरेलले भनेका छन्– ‘जहाँसम्म राजनीतिक ध्रुवीकरणका सन्दर्भमा त्यसप्रति नेकपा (एमाले)को नीति स्पष्ट छ । विगतमा नेताका टाउका जोडेर गरिएको पार्टी एकता असफल भयो । अव पुनः त्यही काम गर्नु उचित हुँदैन । कार्यकर्ताका मन जोडेर बलियो कम्युनिस्ट आन्दोलनको निर्माण अबको बाटो हो । वर्षमानजीलाई फोन गर्नुको अन्तर्य त्यसका लागि वातावरण तयार गर्नु पनि त हुन सक्दछ ।’ 

यस्तो अवस्थामा एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र महासचिव शंकर पोखरेलले कम्युनिस्ट पार्टीबीचको सहकार्यको कुरा सार्वजनिक रुपैमा बताएपछि सत्तारुढ दल नेपाली  कांग्रेसभित्र हलचल ल्याएको छ । 

आफूसँग सत्तामा रहँदारहँदै अन्य कम्युनिस्ट पार्टीसँग मिलेर अघि बढ्न खोजेको स्वीकारोक्ति महासचिव तहकै नेताबाट बाहिरिएपछि एमाले फेरि माओवादीसँगै मिल्ने त होइन भन्ने कुराले कांग्रेस शसंकित बनेको छ । 

एमाले महासचिवको अभिव्यक्तिलाई कांग्रेसको तल्लो तहका नेतादेखि पार्टी सभापति शेरबहादुर देउवासम्मले नै गम्भीरतापूर्वक लिएका छन् । कांग्रेस नेताहरूले पोखरेलको अभिव्यक्तिप्रति गम्भीरता दर्साउँदै पार्टी सजग हुनुपर्ने सुझाव पार्टी सभापति देउवालाई दिइसकेका छन् । 

देउवाइतर समूहले यसै पनि एमालेसँग मिलेर सरकार गठन गरेको मन पराएको छैन । खुलेरै इतर समूहका नेताहरूले सरकार र प्रधानमन्त्री ओलीको कार्यशैलीको विरोध गर्दै आएका छन् । कंग्रेस महामन्त्री गगन कुमार थापाले त अहिलेको प्रधानमन्त्रीले भन्दा आफूले राम्रो काम गर्ने बताउने गरेका छन् । 

कांग्रेसका अर्का महान्त्री विश्वप्रकाश शर्माले पनि एमाले र प्रधानमन्त्री ओलीका काम र अभिव्यक्तिप्रति आपत्ति जनाउने गरेका छन् ।  त्यस्तै काँग्रेसका नेता डा। शेखर कोइरालाले पनि कांग्रेस–एमाले गठबन्धनबाट बनेको दुईतिहाईको सरकारले देशमा सुशासन र न्यायको पक्षमा काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका छन् । 

त्यसो त यसअघि प्रधानमन्त्री ओलीले पनि अस्वाभाविक रूपमा बारम्बार देउवालाई सत्ता हस्तान्तरण गर्ने भन्दै आश्वस्त पार्न खोजेका थिए । अंकगणितको बलियो साथ हुँदाहुँदै बारम्बार सत्ता हस्तान्तरणको अभिव्यक्ति आउनुको पछाडि स्थायित्वमा आशंका हुँदै आएको छ । 

यतिमात्रै नभई कांग्रेसमा बढ्न थालेको आन्तरिक विवाद, भूराजनीतिक परिस्थिति र ओलीको हतासपूर्ण अभिव्यक्तिले समेत गठबन्धन परिवर्तन हुने संकेत बलियो भएको देखिन्छ । यसले कांग्रेस–एमाले मिलेर बनाएको वर्तमान सरकार कहिलेसम्म टिक्ला रु भन्नेमा प्रश्न समेत उठेको छ । 

प्रतिक्रिया दिनुहोस्