
काठमाडौं । अमेरिकाले २० अवैध आप्रवासी नेपालीलाई देश निकाला गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि अवैध रुपमा अमेरिकामा बस्दै आएका २० जनालाई नेपाल फर्काइदिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयकी प्रवक्ता सिता परियारले माघ ७ गतेदेखि माघ २९ सम्म २० जना नेपालीहरु डिपोर्ट भएको जानकारी दिए । जसमा १९ जना पुरुष र १ महिला स्वदेश फिर्ता भइसकेका छन् ।
ट्रम्पले सत्ता सम्हालेकै दिन अवैध आप्रवासीहरुलाई स्वदेश फर्काउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । त्यसपछि अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीमा १ हजार ३६५ जना नेपालीहरु अवैध रुपमा अमेरिकामा बस्दै आएको विवरण सार्वजनिक भएको थियो ।
ट्रम्पले आप्रवासीहरुमाथि कडाइ गर्ने नीति लिएका छन् । सोही नीति अनुसार अमेरिकाले १४ लाख आप्रवासीलाई देश निकाला गर्ने छ । अहिले विभिन्न देशका नागरिकहरुलाई विमान नै चढाएर फर्काइरहेको छ । भारत, मेक्सिको लगायत देशका नागरिकहरुलाई हत्कडीसमेत लगाएर फर्काइएका समाचार सार्वजनिक भइरहेका छन् ।
तर अहिलेसम्म नेपालीहरुलाई फर्काउने क्रममा अमानवीय व्यवहार भएको जानकारी नभएको प्रवक्ता परियारको भनाई छ ।
संगठित मानव तस्करको आडमा नेपालीसहित विभिन्न देशका नागरिकहरु अवैध बाटोबाट अमेरिका पुग्ने गरेका छन् ।