Logo
Logo

भरतपुर अस्पतालमा बिरामी बढे


- दृष्टि न्युज/संवाददाता

0
Shares

चितवन, १७ असार । कोभिड–१९ को त्रासका कारण उपचारका लागि आउने बिरामीको संख्या न्यून रहेको भरतपुर अस्पतालमा क्रमशः बिरामीको संख्या बढ्दै गएको छ । अस्पतालले बहिरंग सेवाको टिकट काट्ने समय बढाएसँगै बिरामीको संख्या बढ्दै गएको हो । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गएको आइतबार अस्पतालको बहिरंग सेवामा ३८९ उपचारका लागि आएका थिए ।

त्यस्तै आकस्मिक सेवामा ८२ जना रहेका थिए । अस्पतालमा आइतबार बिरामीको संख्या बढी हुने गर्दछ । मंगलबार बहिरंग सेवामा ३१५ र आकस्मिकमा १११ उपचारका लागि आएका थिए । लकडाउनसँगै बिरामीको संख्या निकै घटेको थियो । चैतको २६ गते बहिरंग सेवामा ३१ र आकस्मिक सेवामा १४० जनाले उपचार लिएका थिए । अस्पतालमा भर्ना हुने बिरामीको संख्या पनि बढेको छ । अस्पतालले यही आइतबारबाट बहिरंग सेवाको टिकट काट्ने समय बिहान ९ देखि १२ बजेसम्म बनाएको छ । यसअघिको भन्दा समय दोब्बर बढेको हो ।

अस्पतालको प्रसूति सेवामा बिरामीको चाप निकै बढेको छ । विभागका प्रमुख डा सुनिलमणि पोख्रेलका अनुसार दैनिक सरदर ३० जना गर्भवतीले अस्पतालमा बच्चा जन्माएका छन् । पूर्ण लकडाउनको समयमा यो संख्या १५ हाराहारी सम्ममा झरेको थियो । गर्भवती हुनेमध्ये ३० देखि ४० प्रतिशतको शल्यक्रिया गरिन्छ । पोखरेलले अस्पतालमा कोरोनाको डर मान्नुपर्ने अवस्था नरहेको बताउँदै सुरक्षित ढङ्गबाट बच्चा जन्माउने काम भइरहेकाले महँगो शुल्क तिरेर निजीमा जानुपर्ने अवस्था छैन भने । बालसघन उपचारकक्षसमेत भएकाले अस्पतालमा बच्चा जन्माउनेको संख्या बढ्दो रहेको छ ।

पोखरेलले गत वर्षभरिमा १३ हजार पाँच सय गर्भवतीले अस्पतालमा बच्चा जन्माएको भन्दै यस वर्षको जेठ मसान्तसम्ममा १२ हजार तीन सय जनाले बच्चा जन्माइसकेको बताए । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले कोरोनाका बिरामी छुट्टै ठाउँमा अलग बाटो जाने गरी राखिएकाले अन्य बिरामीलाई कुनै समस्या नरहेको बताए । अस्पतालमा बहिरंग टिकट लिने समय बढेको र सरकारी अस्पताल सुरक्षित छ भन्ने सन्देश सबैमा पुगेका कारण बिरामीको संख्या बढ्दै गएको बताइएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जिल्लामा सबैभन्दा सुरक्षित अस्पताल भरतपुर अस्पताल भएको भन्दै उपचारका लागि आउने बिरामीलाई कुनै जोखिम नरहेको भन्दै उनले भने– ‘अहिले सबैतिर जोखिम छ’, उनले भने, ‘अस्पताल आउनैपर्ने बिरामीका लागि सबैभन्दा सुरक्षित भरतपुर अस्पतालमा नै छ ।’ विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय लगायतको निर्देशिका पूर्ण पालना गरेर उपचार हुने भएकाले सरकारी अस्पताल सुरक्षित रहेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्