लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको हालसम्म कुल बजेटको २४.९१ प्रतिशत खर्च गरेको छ । चालु वर्षमा रु ३८ अर्ब ९७ करोड बजेट विनियोजन गरिएको थियो । यसमा पुँजीगततर्फ २४ अर्ब ५८ करोड र चालु खर्चतर्फ ११ अर्ब २४ करोड विनियोजन गरिएको थियो ।

प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयले आज आयोजना गरेको अर्धवार्षिक समीक्षामा चालु आर्थिक वर्षको फागुन ३ गतेसम्मको तथ्याङ्कअनुसार पुँजीगत खर्च २२.८३ प्रतिशत र चालु खर्च २८.४७ प्रतिशत रहेको सार्वजनिक गरिएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित अर्धवार्षिक समीक्षामा मुख्यमन्त्री चेतनारायण आचार्यले चालु आर्थिक वर्षमा विनियोजन भएको पुँजीगत बजेटको कार्यान्वयन र भुक्तानीलाई विशेष ध्यान दिन मातहतका निकायलाई निर्देशन दिए । उनले प्रदेश सरकारले पुँजीगत खर्च गर्न नसकेको भन्ने आलोचनालाई चिर्न खर्चलाई प्रभावकारी रूपमा बढाउनुपर्नेमा जोड दिए । ‘वैशाख महिनालाई अन्तिम भुक्तानीको महिना बनाउन सक्ने हो भने धेरै समस्या हल भएर जाने थिए’, मुख्यमन्त्री आचार्यले भने, ‘अन्य प्रदेशको तुलनामा माघ मसान्तसम्म लुम्बिनी प्रदेशको पुँजीगत खर्च सबैभन्दा राम्रो छ । तर यसलाई निरन्तरता दिनेगरी काम गरौँ ।’
सङ्घीय सरकारबाट प्राप्त समानीकरण, ससर्त तथा विशेष अनुदानका कार्यक्रम कार्यान्वयनमा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए । सङ्घबाट प्राप्त भएको बजेट कार्यान्वयन नभएमा फिर्ता नहुने गरी कार्यान्वयन गर्न जोड दिनैपर्ने उनले बताए ।