Logo
Logo

छुट्टाछुट्टै घटनामा तनहुँमा दुईको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

तनहुँ, १८ असार । जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ स्थित बरादीमा करेन्ट लागेर एक वृद्धाको ज्यान गएको छ । बुधबार साँझ कुखुराको खोरमा जाने क्रममा अचानक करेन्ट लागेर स्थानीय झुलबहादुर पन्तकी ७४ वर्षीया पत्नी मोतीमायाको ज्यान गएको हो । करेन्ट लागेर सख्त घाइते भएकी पन्तको उपचारका लागि मुग्लिन हाइवे अस्पतालमा लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

त्यसैगरी जिल्लाको भानु नगरपालिका–१ निवासी २२ वर्षीया तिलकुमारी गुरुङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय चुँदीखोलाको काली रहमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले जानकारी दिए ।

डुबेर गम्भीर घाइते भएकी ती युवतीलाई उपचारका लागि लक्ष्मी अस्पताल डुम्रे लगिएकामा चिकित्सकले मृत घोषणा गरेको उनले बताए । साथीसँगै पौडी खेल्न गएकी उनी रहमा डुबेर सख्त घाइते भएपछि उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँगै पौडी खेल्न गएका अन्यलाई भने केही नभएको बताइएको छ ।

बहिनी जिस्क्याउनेलाई पिट्दा दुई घाइते

आफ्नो बहिनीलाई जिस्क्याएको निहुँमा यहाँका एक युवकले दुई युवकलाई कुटपिट गरी सख्त घाइते बनाएका छन् । जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ बस्ने सुमन श्रेष्ठले आफ्नी बहिनीलाई जिस्क्याएको भन्दै सोही स्थान निवासी १५ वर्षीय दिप्सन मगर र १९ वर्षीय सुदीप मगरलाई कुटपिट गरी घाइते बनाएका हुन् । कुटपटिबाट घाइते दुवैको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहको छ । कुटपिट गर्ने श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्